
कोरोनाभाइरसका कारण गरिएको लकडाउनमा श्रीमान श्रीमती घरमा साथमै भइरहने अवस्थामा जनसंख्या वृद्धि हुने सम्भावनालाई मध्यनजर गर्दै घरघरमै गएर परिवार नियोजनका साधन बाँड्न थालिएको छ ।
भारतको उत्तर प्रदेशको बलियामा स्थानीय सरकारले घरघरमै गएर निःशुल्क कण्डमका प्याकेट बाँडिरहेको खबर भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ । उत्तर प्रदेशको बलियामा जिल्ला प्रशासनले घरघरमै गएर कण्डम, माला डी र परिवार नियोजनका किट बाँड्न निर्देशन दिएको हो । निर्देशनपछि स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको टिमले घर घर गएर निःशुल्क कण्डम, माला डी र कपर टी बाँडिरहेका छन् ।
लकडाउनपछि जनसंख्या वृद्धि अर्को समस्याको रुपमा नआओस् भन्नको लागि यस्तो गरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ । घरघरमा गएर कण्डमका प्याकेट बाँडिरहेका सरकारी कर्मचारीले मानिसहरुलाई परिवार नियोजनप्रति जागरुक पनि बनाइरहेका छन् । बलियाका असिस्टेन्ट सिएमओ डा. वीरेन्द्र प्रसादले लकडाउनमा दम्पतहिरुलाई यौ न मनोरन्जनको साधन हुने र जनसंख्या वृद्धि हुने विषयमा सरकार चिन्तित भएको बताए ।