काठमाडौं । तीनकुनेमा प्रमुख विपक्षी दल नेकपा एमालेले विरोध प्रदर्शन गरिरहँदा बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाऊ अभियान’ ले आयोजना गरेको सभा शुरू भएको छ ।
देशका विभिन्न जिल्लाबाट प्रसाईंले चलाएको अभियानमा साथ दिन मानिसहरू बल्खु पुगेका छन् । बिहान एमाले कार्यकर्तासँग केहीबेर झडप भए पनि अहिले शान्तिपूर्ण रूपमा कार्यक्रम भइरहेको छ ।
प्रदर्शनका कारण बल्खु, एकान्तकुना, सानेपा, नयाँ बाटो लगायतका क्षेत्रमा सवारी आवतजावत ठप्प भएको छ । प्रदर्शनकारी नेपालको राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका छन् । सो क्षेत्रमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
झडपमा दुई घाइते
काठमाडौंमा प्रदर्शनरत युवा संघका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान हुँदा दुई जना घाइते भएका छन्।
मोटरसाइकल र्याली गर्दै बल्खु पुगेका युवा संघका कार्यकर्तासँग प्रसाईं समूहबीच झडप हुँदा दुई जना घाइते भएका हुन्।
घाइते दुई जनालाई बयोधा अस्पतालमा लगिएको छ। रेडक्रसका स्वास्थ्यकर्मीहरुका अनुसार टाउकोमा सामान्य चोट लागेपछि उनीहरुलाई अस्प्ताल लगिएको हो।
यसअघि, प्रसाईं समूहको तोडफोडबाट बल्खु आसपासका केही संरचनामा क्षति पुगेको छ। सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ।
बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ। बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आइरहेका छन्।
हेर्नुहोस् तस्वीरहरू :