
काठमाडौँ । बचतकर्ताको करौडौँ रुपैयाँ ठगी गरेको आरोपमा देउराली बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालक रविन्द्र चौलागाईं पक्राउ परेका छन् ।
ललितपुर जिल्लाको सातदोबाटोमा केन्द्रीय कार्यलयसहित भक्तपुर र न्युरोडमा समेत शाखा विस्तार गरि विगत केहीवर्ष देखि सञ्चालित ललितपुरकै सहकारी क्षेत्रमा एक नम्बरको देउराली बहुउद्देश्यीय सहकारी संस्था केही वर्षदेखि आर्थिक संकटमा फसेको थियो।
सहकारीका सञ्चालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेप कर्ताको रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई ठगि गरेको बचकर्ताको उजुरीको आधारमा पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानेर बचतकर्ताहरुको हालसम्म प्राप्त जाहेरी अनुसार रु. चार करोड ४९ लाख ९९ हजार चार सय त्रिचालिस रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जनाए ।
काभ्रेको साविक कात्तिके देउराली गाविसका स्थायी बासिन्दा चौलागाईंले २०७१ सालमा देउराली बहुउद्देश्यीय सहकारी संस्था स्थापना गरेका थिए ।
यो सहकारीमा करिब २५ हजार बचतकर्ताको ३ अर्बभन्दा बढी बचत संकलन भएको बताइन्छ । निक्षेपकर्ताको रकम सहकारी सञ्चालक चौलागाईंले आफ्नो व्यक्तिगत कम्पनीका नाममा लगेर जग्गामा डुबाएको पाइएको छ ।
यस सहकारीबाट पिडित निक्षेपकर्ताहरुले यथाशिघ्र ब्यूरोमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।