
काठमाडौं । तिहारको संघारमा काठमाडौंका व्यापारिक केन्द्रहरूमा चहलपहल बढेको छ ।
न्यूरोड, असन, महाबौद्ध क्षेत्रका होलसेल तथा खुद्रा बजारमा व्यापारी तथा ग्राहकको घुइँचो लागेको छ । काठमाडौँको पुरानो बजार भोटाहिटी, असन, इन्द्रचोकजस्ता क्षेत्रहरू अहिले तिहारले गर्दा मानिसको भीडले भरिएका छन् ।
दैनिक सयौँको संख्यामा मानिसहरू तिहारमा चाहिने मखमली, सयपत्रीको माला, भाइ मसला, टिका, बत्ति, पाला, रातो माटो, बिमिरोजस्ता अत्यावश्यक सामानको जोहो गर्न असन इन्द्रचोक आउने गर्दछन् ।
भाइटीकामा दीदीबहिनीले दाजुभाइलाई उपहारस्वरुप दिन टोपी, अस्कोट, गन्जी र चेलीका लागि पछ्यौरा सारी, कुर्ता सलवार लगायतका सामान किन्न ढाका र कपडा पसलमा भीड लागेको छ ।
पछिल्लो समय मोटरसाइकल लगायत सवारी साधन र मानिसको हुल एकै ठाउँमा हुँदा व्यापारी र ग्राहक दुवै पक्षले सास्ती झेलेर खरिद-बिक्री गर्नु परिरहेको दृष्ट देख्न पाइन्छ ।
बिहानदेखि देखिने ग्राहकको भीड दिनहुँ साझसम्म उत्तिकै रहने पसलेहरू बताउँछन् ।
हेरौं तस्विरहरू











