
विराटनगर । भारतीय नम्बर प्लेटको स्कारपियोमा राखिएको कटुवा पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज ३ गते बेलुका मोरङ धनपालथान गाउँपालिका-२ पैठामा पार्किङ्ग गरी राखेको बीआर ०६ पीए 1362 नम्बरको स्कारपियोको ड्यासबोर्डमा कटुवा पेस्तोल बरामद भएको थियो ।
प्रहरीले चेकचाँच गर्ने क्रममा ड्यासबोर्ड भित्र कालो कपडामा बेरेर राखिएको कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद भएको हो ।
पेस्तोल बरामद भएको प्रहरीले तत्काल उक्त गाडीका चालक सर्लाही हरिपुर्वा नगरपालिका-७ बस्ने वर्ष २७ को रबिन्द्र कुमार यादवलाई नियन्त्रणमा लिएको थियो ।
तर गाडिमा रहेका दुई व्यक्तिहरू फरार हुन सफल भएका थिए ।
फरार रहेका सर्लाही हरिपुर्वा नगरपालिका- ७ बस्ने वर्ष २० को कमलेश कुमार यादव र महोत्तरी गौशला नगरपालिका- ६ बस्ने वर्ष २२ को राम दयाल यादवलाई प्रहरीले भोलिपल्ट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन कुमार दाहालले बताए ।
दाहालका अनुसार उनीहरूलाई धनपालथान गाउँपालिका-३ दशगजा क्षेत्रबाट ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तीनैजनाउपर अनुसन्धान चलिरहेको डिएसपी दाहालले बताए ।