
वीरगन्ज । घरबाट हराएका पाँच जना बालिकाहरूलाई नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।
बारा करैयामाई गाउँपालिका-१ हरैया गाउँबाट असोज २२ गते हराएका पाँच जना बालिकाहरूलाई प्रहरीले एक भारतीय युवकका साथ नेपाल भारत सीमाबाट उद्धार गरेको हो ।
उद्धार गरिएका बालिकामध्ये एक जना १३ वर्षको, १४ वर्षका दुई जना र १६ वर्षका दुई जना रहेका छन् ।
उनीहरू सबै एउटै विद्यालयमा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले केटिएम दैनिकलाई बताए ।
उद्धार गरिएका बालिकाहरूलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ भने भारतीय युवकलाई नियन्त्रणमा लिएको छ ।
मोतिहारी, पुर्वी चम्पारण, थाना ढाका, बिक्रमपुर गाउँ घर बताउने वर्ष अन्दाजी १८ को कवि कुमार पाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बालिकाहरूले योजनाबद्ध तरिकाले नै आफ्ना लुगाफाटा र भएको नगद लिएर घरबाट हिँडेका थिए ।
उद्धार गरिएका बालिकाहरूसँग अभिभावकले कुराकानी गर्ने क्रममा ती भारतीय युवकसँग सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएको बताएका छन् ।
करैयामाई गाउँपालिका-१ का वडाध्यक्ष सोनालाल साह तेलीका अनुसार ती बालिकाहरू असोज २२ गते बिहान ३:३० बजे घरबाट भागेका हुन् ।
अभिभावकले बिहानैदेखि खोजतलास गर्दा पनि नभेटिएपछि भोलिपल्ट बेलुका प्रहरीमा खबर गरेका थिए ।
हराएका मध्ये एक बालिकाको मोबाइल लोकेसन ट्र्याक गर्दा उनीहरू वीरगन्ज-१० आदर्श नगर एरियामा रहेको देखिएको थियो ।
त्यसपछि प्रहरीले उक्त क्षेत्रमा खोजतलास गर्दा बालिकाहरूलाई सोही स्थानमा रहेको रानीसति धर्मशालाबाट उद्धार गरिएको हो ।
मानव बेचबिखनको लागि बालिकाहरूलाई भारततर्फ लैजान खोजेको आशङ्कामा पक्राउ परेका युवकउपर अनुसन्धान सुरु भएको डिएसपी न्यौपानेले बताए ।
बालिकाहरू उज्ज्वल भविष्यको कामना गर्दै घर छाडेर हिँडेको बताइएको छ ।