
काठमाडौं । नेपालले मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
चीनमा आयोजना भइरहेको एसियन गेम्सअन्तर्गतको टि-२०आईमा नेपालले निर्धारित ओभरको खेलमा तीन विकेट गुमाएर ३१४ रनको योगफल तयार पारेको हो।
नेपालले टि-२० आईमा ३ सय रन कटाएर विश्व कीर्तिमान बनाएको छ । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए ।
यस्तै, नेपालका दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक प्रहार गरेका छन् । यो सर्वाधिक छिटो अर्धशतक बनाउने विश्व कीर्तिमान हो ।दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन् । उनी १० बलमा ५२ रनमा नटआउट रहे ।
यस्तै, नेपालका कुशल मल्लले सबैभन्दा छिटो शतक हानेर विश्व रेकर्ड बनाएका छन् । कुशलले ३४ बलमै शतक प्रहार गरेका हुन । यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो ।
भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।
तर, टी-२० क्रिकेटमा क्रिस गेलले ३० बलमै शतक बनाएका छन् । बेंग्लोरबाट खेलेका उनले आईपीएलमा सन् २०१३ मा पुणे वारियर्ससँगको खेलमा ३० बलमा शतक बनाएका थिए ।
नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा क्रिजमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे ।
यस्तै रोहित पौडेलले पनि १९ बलमै ५० रन बनाएका छन् ।