
काठमाडौँ । सन् १९९८ को अक्टोबर ८ तारिखदेखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउँदै आइएकोमा यो बर्षपनि विश्वभर नै ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने मूल नारा सहित विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
विश्वमा अन्धोपनाको कारक तथा यसको न्यूनीकरणका उपायका सम्बन्धमा आम जनमानससम्म सूचना र जानकारी प्रवाह गरी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व दृष्टि दिवस यो वर्ष ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराका साथ अक्टोबर १२ तारिख (असोज २५ गते) का दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाल नेत्रज्योति सङ्घले विगतमा जस्तै यो बर्षपनि आँखा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गर्दै विश्व दृष्टि दिवस मनाएको छ ।
सङ्घ अन्तरगतका २७ वटा आँखा अस्पताल, १५० आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरूले देशैभर विभिन्न क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीको आँखा जाँच सहित विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको हो ।
सङ्घले दृष्टि दिवसकै अवसरमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक प्रतियोगिता समेत आयोजना गरेको थियो भने, काठमाडौंको त्रिपुरेश्वर, बानेश्वर र कोटेश्वरमा रहेका डिजिटल बोर्डहरूमा समेत जनचेतना मूलक भिडियो प्रसारण गरिरहेको छ ।
दृष्टि दिवसका अवसरमा आयोजित टिकटक प्रतियोगितामा पौडेल प्रथम
दृष्टि दिवसका अवसरमा नेपाल नेत्रज्योति सङ्घले आई केयर फाउन्डेसनको सहयोगमा आयोजना गरेको टिकटक प्रतियोगितामा किरण पौडेल प्रथम भएका छन् ।
सङ्घले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको टिकटक प्रतियोगितामा पौडेल प्रथम भएका हुन ।
त्यस्तै टिकटक प्रतियोगितामा शान्ति थापा द्वितीय भएकी छन् भने सन्जु गुप्ता तृतीय भएकी छन् । सङ्घले पछि एक कार्यक्रमको आयोजना गरी विजेतालाई पुरस्कृत गर्ने जनाएको छ ।
प्रथमलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मानित गरिने नेत्रज्योति सङ्घले जनाएको छ ।
प्रतियोगिताको घोषणा गर्दै उत्कृष्ट एक लाई नगद ५० हजार सहित पुरस्कृत गर्ने घोषणा गरिएको भएता पनि प्रतियोगितामा उत्साहजनक सहभागिता आएको र आगामी दिनमा समेत आँखा स्वास्थ्य सम्बन्धी जनचेतना मूलक भिडियो बनाउन प्रोत्साहित गर्ने उद्देश्यले दोस्रो र तेस्रो हुनेलाई समेत पुरस्कृत गर्न लागिएको सङ्घका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रले बताए ।
सङ्घका महासचिव भरतबहादुर चन्दले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले आयोजना गरिएको टिकटक भिडियो प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि आँखा स्वास्थ्य सम्बन्धी जनचेतना वृद्धि गरी नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारणमा हातेमालो गर्न आग्रह समेत गरे ।
२०३५ सालमा एक गैर नाफामूलक गैरसरकारी संस्थाका रूपमा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखा मार्फत नेपाली नागरिकलाई सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा चेतराज पन्तले बढ्दो जनसङ्ख्या वृद्धि दर, औसत आयुमा वृद्धि, प्रविधिको अत्यधिक प्रयोग, वातावरणीय जोखिमयुक्त बसोबास, आधुनिक खानपान आदि कारणबाट आँखा स्वास्थ्यमा नकारात्मक असर पर्न थालेको बताए ।