
उदयपुर । अध्ययनको सिलसिलामा सुनसरीको धरान बस्दै आएका समीर खड्का घरका भित्तामा कमेरो छ्याप्न तल्लीन थिए । उदयपुर ताप्ली गाउँपालिका-५ कटहरेस्थित आफ्ना दुई घरका पर्खालको माथिल्लो भागमा समीरले कमेरो छ्यापे ।

घर रङ्ग्याउने काममा समीरलाई उनकै बहिनी सुरक्षाले सघाउँदै थिइन् । पर्खालको तल्लो भागमा सुरक्षाले रातोमाटो पोतिन् । बाबियोबाट बनेको कुचोले समीरले कमेरो छ्याप्दा झुम्रोको सहायतामा सुरक्षाले रातोमाटो लगाइन् ।
दिनभरिको समय खर्चिएर उनीहरूले घर चिटिक्क बनाउँदै दसैंलाई निम्तो दिए । घरको साजसज्जामा उनीहरूको अथक मिहिनेत प्रष्टियो पनि । उनीहरूमात्र होइन, कटहरेमा माटो र ढुङ्गाबाट बनेका एक सयभन्दा धेरै घर छन्, जहाँ अझै पनि रातोमाटो र कमेरो पोतेर दसैं डाक्ने गरिन्छ ।

‘वर्षौंयता हामीले दसैंछेक टाढा-टाढा पुगेर ल्याएको रातोमाटो र कमेरोले घर रङ्ग्याएर दसैं डाक्ने गरेका छौं, त्यो परम्परालाई अझै पनि कायम राख्न लागिपरेका छौं,’ समीर भन्छन्, ‘हाम्रो गाउँतिर पक्की घर कमै छन्, यहाँ अझै पनि रातोमाटो र कमेरोले घर सजिन्छन् ।’

रातोमाटो र कमेरो किन्नु पर्दैन । केही घण्टाको दूरीमा पाइने कमेरो र रातोमाटो दसैं नजिकिएसँगै ल्याइन्छ । घरका आँगन र दलान अरूबेला पनि लिपपोत हुन्छ । तर, घरका भित्तो भने दसैंछेक मात्र पोत्ने चलन यतातिर छ । घरका झ्याल-ढोका र चौकट पनि कालोमाटो ल्याएर पोत्ने गरेको सुरक्षा बताउँछिन् ।

‘पहिले-पहिले पुराना ब्याट्री फुटाएर त्यसको कालो पोत्ने चलन थियो, अहिले विद्युतको उपलब्धता भएर ब्याट्रीको चलन हरायो,’ उनी भन्छिन्, ‘यसैले कालोमाटो सङ्कलन गरेर झ्याल-ढोका लिपपोत गर्छौं । इनामेल र कलरपेन्टको चलन यता खासै छैन ।’
यस गाउँमा अझै पनि दसैंका बेला रातोमाटो र कमेरोले घर लिपपोत गरेपछि मात्रै जमरा राख्ने चलन रहेको स्थानीय वृद्ध सिंहबहादुर खड्काको भनाइ छ ।
उनी भन्छन्, ‘यहाँभन्दा पर, करिब तीन घण्टा ओरालो लागेपछि कमेरो पाइन्छ, रातोमाटोका लागि भने दुई घण्टा उकालो चढ्नपर्छ । त्यै पनि यहाँका स्थानीय झर्को मान्दैनन्, कलरपेन्ट पाउँदापाउँदै पनि कमेर र रातोमाटो प्रयोग गरेर संस्कृति जोगाउने काम सबैले गरेका छन् ।’
दसैंछेक यहाँ घर-गोठमात्र होइन विद्यालयहरू पनि पोतिन्छन्, जसमा कमेरो र रातोमाटोकै प्रयोग हुनेगरेको छ ।