
काठमाडौं । स्कुटर चोरेर नम्बर प्लेट परिवर्तन गर्दै चलाउने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
असोज २५ गते दोलखा मेलुङ गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने रोजन नगरकोटीको बागमती प्रदेस ०२,०४१ प ०३७९ नम्वरको रातो रंगको यामाहा स्कूटर हराएको थियो ।
काठमाडौं महानगर-१६ नयाँबजार पिपुल्स हस्पिटल नजिकै पार्किङबाट हराएको उक्त मोटरसाइकल नम्बर परिवर्तन गरेर चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त स्कुटर खोज तलासको क्रममा हिजो दिउँसो ३ बजे जोरपाटी सडक खण्डमा रत्न बहादुर तामाङ्गले नम्बर प्लेट परिवर्तन गरी बागमती प्रदेस ०२,०४४ प ०३८१ नम्वर लगाई प्रयोग गरेको अवस्थामा फेलापारेको हो ।
चोरी भएको मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागी प्रहरी वृत्त लैनचौर, सोह्रखुट्टे बुझाईएको ट्राफिक प्रहरीले जनाएको छ ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजक हुनुपर्ने समेत प्रवक्ता भट्टले बताए ।