मन्थली । रामेछापमा विद्यार्थीलाई बलात्कार प्रयास गर्ने शिक्षक पक्राउ परेका छन् ।
विद्यार्थीलाई बलात्कारको प्रयास गरेको आरोपमा जिल्लाको लिखुतामाकोशी गाउँपालिका-७ तिल्पुङस्थित नवदर्शन माविका शिक्षक मानबहादुर सार्की सोमबार पक्राउ परेका हुन् ।
९ कक्षा मा अध्ययनरत एक छात्रालाई गत मङ्सिर २६ गते विद्यालय समयपछि प्रश्न पत्र दिने भन्दै सार्कीले आफ्नै घर नजिकै कोही नभएको पुरानो घरमा लगेर बलात्कार प्रयास गरेको भन्दै आइतबार जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी परेको थियो ।
जाहेरीपछि प्रहरीले सार्कीलाई सोमबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
बालिकाले आफूलाई शिक्षकले प्रश्न पत्र दिने भनेर फकाएर आफ्नो घरनजिकै रहेको पुरानो घरमा लगेको र संवेदनशील अङ्ग समाई बलात्कार गर्ने प्रयास गरेको भन्दै आइतबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताए ।
पक्राउ परेका शिक्षकलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख पराजुलीले जानकारी दिए ।
उनी गाउँपालिकाले दिएको अनुदानबाट तलब भत्ताबाट पढाउने करारका शिक्षक भएको बुझिएको छ ।
बालयौन दुरुपयोग/दुर्व्यवहार भनेको के हो ?
बालबालिकाको अधिकारको सम्मान, संरक्षण प्रवर्धन र परिपूर्ति गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्न सङ्घीय संसद्ले बालबालिका सम्बन्धी ऐन, २०७५ बनाएको छ । उक्त ऐन २०७५ साल असोज २ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागू भएको छ ।
सोही ऐनको दफा ६६ को उपदफा ३ मा कुन कुन कुरालाई बालयौन दुरुपयोग/दुर्व्यवहार भनेर बुझ्ने स्पष्ट व्याख्या गरेको छ । जसअनुसार कसैले बालबालिका उपदर देहाय बमोजिमको कुनै कार्य गरेमा बाल यौन दुर्व्यवहार गरिनेको मानिन्छ ।
क) अश्लील चित्र, श्रव्य दृश्य वा यस्तै खाले अन्य सामग्री देखाउने, देखाउन लगाउने । अश्लील तथा यौनजन्य आचरण, व्यवहार झल्कने अभिव्यक्ति, हाउभाउ प्रदर्शन गर्ने, बाल अश्लीलता प्रदर्शन गर्ने, गराउने ।
ख) बालबालिकाको वास्तविक वा काल्पनिक अश्लील चित्र वा श्रव्य दृश्य सामग्री वितरण गर्ने, भण्डारण गर्ने वा त्यस्ता सामग्री प्रयोग गर्ने,
ग) यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने,
घ) अश्लील कार्य तथा सामग्री निर्माणमा प्रयोग गर्ने,
ङ) यौनजन्य मनसायले शरीरको संवेदनशील अङ्गमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अङ्कमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अङ्ग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अङ्ग प्रदर्शन गर्ने वा गर्न लगाउने,
च) कामवासना वा यौन उत्तेजना उत्पन्न गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने,
छ) यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने,
ज) बाल यौन शोषण गर्ने वा गराउने,
झ) यौनजन्य सेवा उपलब्ध गराउने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने,
ञ) यौन दुर्व्यवहार गर्ने उद्देश्यले बालबालिकाको प्रयोग गर्ने वा गराउने,
ट) वेश्यावृत्ति वा अन्य यौनजन्य कार्यमा प्रयोग गर्ने ।
सजाय के हुन्छ ?
बालयौन दुर्व्यवहार गर्नेलाई ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था सोही ऐनमा छ ।