
काठमाडौँ । आज बिहान धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले गरेको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
आज बिहान ७:३९ बजे खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्पको कारण अहिलेसम्म कुनै पनि मानवीय वा पशु चौपाया क्षति भएको विवरण आइसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय धादिङले सङ्कलन गरेको प्रारम्भिक क्षतिको विवरण अनुसार १८ घर/गोठमा भूकम्पले क्षति पुर्याएको छ ।
भूकम्पले एकाध बाहेक ढुङ्गा माटोले बनेका कच्ची घरमा बढी क्षति पुर्याएको धादिङ प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताए । उनले भने, ‘धेरैजसो कच्ची घरहरूमा क्षति पुगेको छ भने केही आरसीसी घरको पर्खालसमेत चर्किएको देखिएको छ ।’
खरी क्षेत्रमा भूकम्पपश्चात् सुख्खा पहिरो गएको छ ।
यस्तो छ क्षतिको प्रारम्भिक विवरण ।
१) जिल्ला धादिङ ज्वालामुखी गा.पा.५ कुमलटारी बस्ने वर्ष ५२ को भक्कि कुमालको कच्ची घरको पछाडि भागको भित्ता भत्किएको ।
२) ऐ.ऐ. बस्ने वर्ष ३६ को रमेश कुमालको बाँस र माटोले बनेको कच्ची घरको पछाडिको भित्ता भत्किएको
३) ऐ.ऐ. बस्ने वर्ष ५० को पुन्टे कुमालको भित्ता चर्किएको,खाना पकाउने चिम्नी बाङ्गिएको।
४) ऐ.ज्वालामुखी ५ कुमालटारी बस्ने वर्ष ४५ को प्रताप कुमालको ढुङ्गा माटोले बनेको कच्ची घरको चिम्नी बाङ्गिएको र भित्ता चर्केको,
५) ऐ.ऐ.७ चैनपुरवेशी बस्ने वर्ष ७३ को दल ब. दनईको खाना पकाउने चिम्नी खसेको
६) ऐ.ऐ. वडा न.१ माझीटार बस्ने मंगलसिंह माझीको गोठ भत्किदा १ वटा खसीको खुट्टा भाँच्चिएको
७) ऐ.ऐ. ५ बुङकोटघाट सिम्ले स्थितमा बालुवा भएको स्थानमा पहिरो गएको बुझिएको ।
८) ऐ.ऐ.५ बस्ने वर्ष ६० को कृष्ण ब.कुमालको ढुङ्गा माटोले बनेको २ तले घरको भित्री गाह्रो भत्किएको ।
९) ऐ.ऐ.५ बस्ने वर्ष ५१ कि सरस्वती लामिछानेको ब्लकले बनेको बाख्राको खोरको गाह्रो भत्किएको ।
१०) ऐ.ऐ. ५ बस्ने वर्ष ४५ को भुवन ब.भुजेलको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले घरको दुवै पट्टिको गाह्रो भत्किएको ।
११) ऐ.ऐ.५ बस्ने वर्ष ३५ को तोप ब.भुजेलको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले घरको दुवै पट्टिको गाह्रो भत्किएको ।
१२) ऐ.ऐ.१ माझिटार बस्ने वर्ष ४५ को मंगल सिन माझिको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले घर बायाँ पट्टिको गाह्रो भत्किएको ।
१३) ऐ.ऐ ५बस्ने वर्ष ७० को विष्णु कुमार श्रेष्ठको ढुङ्गा माटोले बनेको टिनको छानो भएको घर चर्केको ।
१४) ऐ.ऐ.५बस्ने वर्ष ६० को काग्रेश कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको घर चर्केको ।
१५) ऐ.ऐ.५बस्ने वर्ष ७५ कि बसमायाँ लामाको ढुङ्गा माटोले बनेको भुईँ तले घरको गाह्रो भत्किएको ।
१६) ऐ.ऐ.५बस्ने वर्ष ४३ को मुक्ती लामाको भन्सारको गाह्रो चर्केको ।
१७) ऐ.ऐ.५बस्ने वर्ष ४४ को धुर्ब श्रेष्ठको पक्की २ तले घरको भित्ता चर्किएको।
१८) ऐ.ऐ.५बस्ने वर्ष ४० को प्रकाश अधिकारीको गोठ भत्किएको ।