
काठमाडौं । नेपाल सरकारले केही समयअगाडि नियुक्त गरेको विभिन्न देशका चार आवासीय राजदूतले पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालयमा आज सुधिर भट्टराई, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल र रामप्रसाद सुवेदीले राष्ट्रपतिसमक्ष शपथ लिएका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिका कार्यालयले भदौ ११ गते तीनजनालाई र २२ गते रामप्रसाद सुवेदीलाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
भट्टराईलाई फ्रान्स, क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स, लम्साललाई कुवेतमा राजदूत सिफारिस गरिएको थियो भने सुवेदीलाई स्वीट्जरल्याण्डको आवासीय राजदूत र संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग जेनेभा, वल्र्ड ट्रेड अर्गानाइजेशन र विश्व स्वास्थ्य संगठनका लागि स्थायी प्रतिनिधिमा नियुक्त गरेको थियो ।
नेपालको संविधानको धारा २८२ मा राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनको लागि विशेष प्रतिनिधि नियुक्त गर्न सक्ने व्यवस्था छ ।
राजदूत भएका चारैजना परराष्ट्रका सहसचिव हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैजला रेग्मी भट्टराईले जारी गरेको प्रेस विज्ञप्ती अनुसार शपथ ग्रहण कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गसहित उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।