
बाँके । बिहीबार बाँकेको कोहलपुरमा खुकुरी प्रहार गरेर फरार रहेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनी प्रहरीमाथि नै जाइलागेका छन् ।
हिजो बिहान ३:०० बाँके बैजनाथ गाउँपालिका-१ चिसापानी घर भई हाल कोहलपुर नगरपालिका- ११ बस्ने वर्ष ३० को आकाश राना समेतका व्यक्तिले मिन बहादुर बि.क.लाई खुकुरी प्रहार गरेका थिए ।
घटनापछि फरार रहेका रानालाई आज प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनी प्रहरीमाथि नै जाइलागेर भागेपछि प्रहरीले गोली चलाएको हो ।
भागेका रानालाई नियन्त्रणमा लिनको लागि प्रहरीले तीन राउण्ड फायर गर्दा दाहिने खुट्टाको घुँडामा एक गोली लागेको छ ।
गोली लागेर घाइते भएका रानाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका रानाउपर कात्तिक २८ गते बिहान ३:०० बजे १० वर्षीया बालिकाउपर जबरजस्ती करणी गर्ने प्रयास गरेको जाहेरी समेत परेको छ ।
उनी पाँच वर्ष लागुऔषध मुद्दामा कैद भुक्तानी गरेका व्यक्ति रहेको डिएसपी डाँगीले जानकारी दिए ।