
महोत्तरी । ४०५ केजी लागुऔषध गाँजा बोकेर गुडिरहेको ट्रकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान २:०० बजेको समयमा जलेश्वरबाट बखरी तर्फ जाँदै गरेको ना.६ ख ७३७४ नं.को ट्रकमा उक्त परिमाणको गाँजा बरामद भएको हो ।
२७ वटा पोकामा १५ केजीका दरले राखिएको गाँजासहित उक्त ट्रकका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको महोत्तरी प्रहरी प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।
प्रहरीले ट्रक र त्यसका सहचालक मकवानपुर थाहा नगरपालिका-२ बस्ने अन्दाजी बर्ष २२ को विशाल थिङ्गलाई नियन्त्रणमा लिएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए ।
कानुनमा के छ ?
लागूऔषध (नियन्त्रण) ऐन, २०३३ आठौं संशोधन २०७२ ले गाँजा उत्पादन, तयार, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसार पसार तथा सञ्चय गर्ने व्यक्तिलाई गाँजाको परिमाण हेरेर विभिन्न सजाय निर्धारण गरेको छ ।
उक्त ऐन को दफा १४ (१) घ (५) का अनुसार दश किलोग्रामदेखि माथि जति सुकै परिमाणमा भएपनि त्यस्तो व्यक्तिलाई दुई वर्षदेखि दश वर्षसम्म कैद र पन्ध्र हजारदेखि एक लाख रुपैयाँसम्म जरावना हुने व्यवस्था छ ।