
काठमाडौं । नेपालमा बसेर बैदेशिक रोजगारीको बहानामा ठगी गर्ने दुई विदेशी नागरिक पक्राउ परेका छन् ।
बैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाई दिन्छु भन्दै वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाई विश्वास मा पारी ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा एक पाकिस्तानी र एक अजरबैजनी नागरिक रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पाकिस्तान राहुलपिन्डी घर भई हाल काठमाडौंको ठमेलमा बस्ने बर्ष ५१ को नाजिक मोहम्मद र अजरबैजन देशमा घर भई हाल ठमेलमा बस्ने वर्ष ३१ की आयसेल हुसेनिललाई ठगी गरेको आरोपमा पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
दुवैलाई प्रहरीले मंगलबार बेलुका ठमेलमा रहेको यात्री एण्ड ड्याडी स्विट एण्ड स्पा होटलको कोठा नम्बर ३०४ र ३१४ बाट नियन्त्रणमा लिएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धनको क्रममा उनीहरूले नेपाली नागरिकबाट प्रोसेसिङ गर्नको लागि प्रतिव्यक्ति एक हजार अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ एक लाख ३३ हजार लिने गरेको खुलेको छ ।
नक्कली अफर लेटर, वर्कपर्मिट, भिसा लगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको समेत खुलेको छ । पीडितहरूलाई विश्वासमा दिलाउनको लागि अजरवैजानमा घुम्न लग्ने गरेको पाइएको एसपी रेग्मीले बताए ।
उनीहरूले अहिलेसम्म असी लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ । अन्य कोही व्यक्तीहरू पनि ठगीमा परेको भए सम्पर्कमा आउन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुवै विदेशी नागरिकलाई थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाण्डौ पठाईएको छ ।