
वीरगञ्ज । तिहारको लागि नयाँ लुगा किन्नको लागि मार्केट गएका दुई युवाहरू नक्कली नोटसहित पक्राउ परेका छन् ।
गत कात्तिक २४ गते वीरगञ्ज सिटी मार्केटमा कपडा खरिद गर्ने क्रममा उनीहरूले दिएको नोट नक्कली जस्तो लागेर पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले नगद दिएका दुई व्यक्तिलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट एक हजार दरको ३८ वटा नक्कली नोट बरामद गरेको हो ।
नेपालको कानुनले “खोटा मुद्रा” को परिभाषा गर्दै लेखेको छ: ‘नेपाल सरकार वा नेपाल राष्ट्र बैङ्क वा विदेशी सरकार वा अधिकार प्राप्त विदेशी संस्थाले निकालेको हो भन्ने भान पार्ने वा विश्वास हुने गरी अनधिकृत रूपमा बनाएको वा नक्कली मुद्रा सम्झनु पर्छ ।’
नक्कली नोटसहित पक्राउ परेका वीरगञ्ज महानगर-३१ बस्ने वर्ष २४ का ऋषिलाल पटेल र बारा कलैया उपमहानगर-३ घर भएका २५ वर्षका उमेश कुमारउपर मुद्दा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।
कानुनमा के छ ?
मुलुकी अपराध संहिता-२०७४ ले खोटा मुद्रा बनाउने व्यक्तिलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने तोकेको छ ।
अपराध संहिता दफा २५६ ले यस सम्बन्धी सजायको व्यवस्था छ ।
