
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप-२०२३ मा सहभागी हुन पाकिस्तान गएका छन्।
सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा नाबालिग बलात्कारमा मुद्दा चलिरहेको छ। सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनी एसिया कप खेल्नका लागि पाकिस्तान गएका हुन्।
नेपाली टिमका अन्य सदस्यहरू पाकिस्तान पुगिसकेका छन्। आइतबार सुनुवाइ नै नभएपछि सन्दीपलाई पनि आज (सोमबार) पाकिस्तान पठाइएको हो।
लामिछाने सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरलाइन्सको विमानबाट पाकिस्तान प्रस्थान गरेका छन् ।
विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै क्रिकेटर लामिछानेले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुसीको पर्व भएको बताएका थिए ।
एसिया कपमा समूह ‘ए’ मा रहेको नेपालले आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताएका थिए । नेपालले एसिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।