भूकम्प हुँदै कोभिडबाट भर्खरै तँङग्रीन लाग्दा फेरी रुस -युक्रेन द्वन्द्व होस् या इजरायल-हमासको द्वन्द्वले अहिले विश्व अर्थतन्त्र नै कमजोर बनिरहेको बेला त्यसको असर नेपाल सम्म पनि आइसकेको छ।अर्थतन्त्रकै सवालको कुरा गर्दा झन् सहकारीले बढ्दो प्रभाव पारेको छ।
दिन प्रति दिन सहकारी प्रति आम मानिसको बुझाई फरक र अविश्वास पैदा गरेको भान हुन्छ।आखिर किन मानिसहरू आफै संस्था खोलेर अहिले आफै नै अविश्वासको भुमरीमा परेका छन् त यो बारेमा विशेष छलफल हुनु पर्दछ जस्तो लाग्छ।
विभिन्न जिल्लामा सहकारीका सञ्चालकहरूलाई प्रहरी हिरासतमा राखेको समाचार बाहिर आएको छ या सञ्चालक फरार भयो, सहकारीले पैसा खाएर भाग्यो भन्ने घटना पक्कै पहिलो र अन्तिम भने होइन, सहकारीमा बचत गरेका बचत कर्ताले उजुरी दिएको भरमा अहिले जहाँ त्यही सहकारीमा विवाद सिजॅना गरी केही न केही आतङ्क मच्चाएको प्रस्ट छ।
साथै यस्तो दुर्दशा आउनु सहकारी स्वयं जिम्मेवार हो या सहकारी क्षेत्रलाई अनुगमन गर्ने निकाय र पारदर्शीताको उपजनै सहकारी विकृति तर्फ मोडिने मनस्थिति पनि हो।समग्र सहकारीमा समय समयमा अनुगमन नहुनु, सहकारीमा अध्यक्ष हाबी हुने प्रवृत्ति, दल र भातृ सङ्गठनका नाममा खुल्ने सहकारी सङ्घका सदस्यले पद, ओहोदा ओगटी बस्नु, आफ्नो कार्यक्षेत्र भन्दा बाहिरका सदस्यलाई नातावाद, कृपावादका आधारमा ऋण लगानी गर्नु, एउटै सदस्य ‘डुप्लीकेशन’ रूपमा एक देखि अनेक संस्था देखि ऋण लिनु नै सहकारी उँधो गति तर्फ लाग्ने बाटो हो भनेर भन्न सकिन्छ।
अहिले सहकारी खोलिनु वा आफ्नै नजिकका आफन्त नै कार्य समितिमा राखिनु वा अध्यक्ष, सचिव, कोषाध्यक्ष जस्ता ‘भाइटल’ पोस्टको जिम्मेवारी दिनु अझ भन्नु पर्दा संस्थाका प्रबन्धक, कर्मचारी समेत आफ्नै राख्नु, बचत कर्तालाई बढी ब्याज दिने लोभ प्रदान गर्नु साथ साथै शेयर सदस्य समेतलाई चर्को शेयर मुनाफा दिनुले नै प्रश्न चिन्ह खडा गरेको छ की यो सहकारी नियम अनुसार चलेको छ या छैन भनेर हेर्न हामी सँग समय र चासो नहुनुको पराकाष्ठा नै सहकारी डुब्नुले विश्वसनीयता झन् गुम्न थालेको छ ।
सहकारीको मर्म अनुसार चल्नु पर्ने वा सहकारीको धर्म नै आफू पनि चल्ने र सहकारी बाट ऋण लिएर गएकाले पनि लगानी लिए अनुसारको काम र उद्यम गरी समयमा ऋण भुक्तान गर्ने हो।तर त्यस अनुसार हुन सकेको देखिँदैन।अहिले त झन् बचत कर्ताले मुद्दा दिने सञ्चालक जेल जाने तर ऋणी छाती फुलाएर बजार डुल्ने प्रबति हाबी छ। मानौँ प्रहरी प्रशासनले पनि सहकारीका संचालकनै चोर हुन भन्ने खालको संज्ञा दिई समातेको पाइन्छ। त्यसैले यस क्षेत्र समेत वित्तीय साक्षरता, वित्तीय पहुँचको अज्ञानता हो ।
बचत कर्ताको पैसा फसेको छ मानिन्छ तर सहकारीले पनि त करोडौँ रकम ऋण लगानी गरेको छ, उनीहरूको सवालमा किन प्रहरी प्रशासनले ऋणीलाई समात्न सकिँदैन यो अनुत्तरित छ एवं ऋणीले कति सङ्घ संस्था बाट ऋण लिई कारोबार गरेको छ त्यस बारेको अज्ञानता पनि तँ हो।
संस्था चलुन्जेल ब्याज खाने, भ्रमण जाने, मनलाग्दो मुनाफा खाने बेला सम्म त्यही सहकारी राम्रो, अध्यक्ष राम्रो हुने तर अहिले आएर बचत कर्ताको रकम समयमा दिन नसक्दा नराम्रो कसरी हुने ? सहकारीले फाइदा दिँदा अनेकौँ शीर्षकमा ऋण लगानी गरी कारोबार गर्दा राम्रो सहयोग गरेको सहकारीले अहिले आएर संस्था आपत् पर्यो भनेर भएको शेयर र बचत समेत फिर्ता माग्ने सदस्य कातर हो।
प्रशासनले बचत कर्ताको समस्या सुन्ने तर सहकारीको समस्या कसले सुन्ने हो? सहकारी हितका नाममा खोलिएका स्थानीय संयन्त्र नगर पालिका देखि केन्द्रीय तह सम्म यो विषयमा मौन छ।छिट्टै हुने नेफ़्स्कुन निर्वाचनमा समेत यस्ता समस्याका बारे छलफल होस्।स्थानीय नगरपालिकाले आफूलाई कर उठाउन पाए भयो भने झैँ पानी माथिको ओभानो भई पन्छिन खोजेको आभास हुन्छ त कहिले काहीँ सूचना टाँसेर आफ्नो काम गरे भन्ने खालको मोही मागी ढुङ्ग्रो लुकाउने गरेको व्यवहार देखिन्छ।जब की स्थानीय तह नै सहकारीको नियमन र अनुगमन गर्ने थलो हो।
संस्थालाई तिर्न, बुझाउन पर्ने बाँकी बक्यौता र ऋण रकम नतिरी बाँकी राखेमा त्यस्तो रकम र सोको ब्याज, हर्जाना समेत दर्ता गर्ने अधिकारीले त्यस्ता व्यक्तिको जायजेथाबाट असुल उपर गरिदिने र नगरपालिकाले आफ्नो अनुगमन पनि तीव्र रूपमा पार्न सक्नु पर्दछ साथै ऋण तिर्नका लागी मात्र भनेर नगरपालिका पन्छिन सक्दैन एवं बचत कर्ताको बचत सुरक्षित छ भन्ने हिम्मत पनि राख्न सक्नु पर्दछ त्यही नगर्नुको नतिजा अहिले देख्न पाइएको छ।
सहकारीले पनि आफू खुसी मन लाग्दो तरिकाले ऋण प्रवाहको नतिजा अहिले देखिएको मुख्य समस्या हो ।मनलाग्दी कर्जा परिचालन गर्ने, गैर जिम्मेवार लेखा परीक्षक भर्ना गर्ने, बर्सेनि हुने साधारण सभा, बैठक समेत एकान्त कोठा र एकलौटी गर्ने, केही टाठा बाठा बोल्न सक्ने सेयर सदस्यलाई रक्सी र मासुमा बिक्री गराउने वा चुप पार्ने गर्दछन् र मुख्य सञ्चालकहरू समेत संस्थाको रकम हिनामिना गरी मामाको धन फुपूको श्राद्ध गर्ने गरेका छन्।
बेलैमा ऋण नतिर्ने या ऋण पनि अनेक खालका कर्जाको वर्गीकरण गरी मनग्गे ऋण थुपारी दिनु हो।ऋणीले घाटी हेरी हाड निल्न सक्ने खालको ऋण लिनु पर्दछ र दिनु पनि पर्दछ।सहकारी क्षेत्र सँग कसरी समन्वय सहकार्य गर्ने भन्ने विषयमा नीतिगत, कानुनी तवर र कार्यान्वयनको हकमा गुरु योजना बनाई के कस्तो खालको राज्यले आफ्नो कारबाही नियमन गर्न सक्छ यस बारेमा स्थानीय तह र स्वयं राज्य समेत लागि पर्नु पर्दछ।
समितिमा रहेकालाई पनि आफ्नो भूमिका के हो?सदस्यको भूमिका के,बचत कर्ताको भूमिका के,ऋणीको भूमिका के भन्ने विषयमा मज्जाले छलफल हुनु र समितिका पदाधिकारीलाई जिम्मेवार बोध गराउनु पर्दछ। बेला बेलामा तालिम गोष्ठी जस्ता क्रियाकलाप गरेर संस्थालाई दिगो र भरपर्दो बनाउने आफ्नो हात रहेको हुँदा असल कर्जा खराब कर्जाको अनुगमन गर्ने र राम्रोलाई पुरस्कृत गर्ने परिपाटी बसाल्नु पर्दछ।तसर्थ सहकारीको समस्या समाधान गर्ने दायित्व वा भूमिका कार्य सञ्चालक समिति, सहकारीका कर्मचारी, स्वयं सेयर सदस्य र बचत कर्ताको हो भनेर कदापि बिर्सन हुन्न।
अब सहकारी मार्फत आर्थिक तवरले उच्च बनाउन सहकारी को मूल्य मान्यता र सिद्धान्त मार्फत दिगो साथै अनियमितता र समस्यालाई चिर्दै सही व्यवस्थापन, वित्तीय सूचना विश्लेषण, अनुगमन, निरीक्षण, सुपरिवेक्षण,सम्पत्ति शुद्धीकरण र स्थानीय सङ्घ संस्थाको सहकार्यमा एकीकरण गरी अगाडि बढ्न सके सहकारी पुनः जीवन्त हुन सक्ने सम्भावना छ।