
काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा डा.बद्रि केसी निर्वाचित भएका छन्।
काठमाडौंको सोल्टी होटलमा भएको मतदान र अनलाइन भोटिङको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वीलाई पराजित गर्दै डा.केसी विजेता घोषित भएका छन्। अध्यक्षमा तीनजना प्रतिष्पर्धी थिए।
निर्वाचनमा केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।
त्यसैगरी रोजिना प्रधान राई, डा.निर्मल श्रेष्ठ, डा.हेमराज शर्मा, रामशरण सिंखडासहितले उपाध्यक्ष पद जितेका छन्। संघको महासचिवमा अमेरिकाका गौरी जोशीले जित हात पारे। उनका निकटतम प्रतिष्पर्धी अमेरिकाबाटै बुद्धि सुवेदी थिए।
केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् ।
महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।
विशेषत नेपाली कांग्रेस पार्टीका तर्फबाट आधिकारिक उम्मेद्वारहरु बनाएका अध्यक्ष, महासचिवसहित कतिपय पदाधिकारीमा हार व्यहोरेपछि हार स्वीकार गर्न आनाकानी गरेको बताइएको छ ।
त्यसैगरी सो समूहबाट जितेकाहरुमध्ये केहीले पनि जितलाई अस्वीकार गरेको बताएका छन्। हार र जितलाई सहज स्वीकार्न नसक्ने अवस्थाले फेरि एनआरएनएमा रडाको शुरु हुने भएको छ। अस्वीकार गर्ने समूहले निर्वाचन प्रक्रियाबारे व्यापक छानविन हुनुपर्ने माग गरेको छ।
मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले भने– यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए ।
अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको भनाइ छ ।
उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले आफूलाई जिताइएको भए पनि यो जितलाई स्वीकार नगर्ने बताए । उनले निर्वाचनमा धाँधली गरिएको दावी गरे ।