
काठमाडौं । कलाकार सारुक ताम्राकारको आत्महत्या प्रकरणमा अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो मौनतालाई कमजोरी नठान्न अनुरोध गरेकी छन् ।
सामाजिक सञ्जालमा एक लामो स्ट्याटस लेख्दै अभिनेत्री श्रेष्ठले केही वास्तविक सूचनाहरू प्रवाह गरेकी बताएकी छन् ।
कलाकार सारुक ताम्राकारले गत असार २१ गते आत्महत्या गरेका थिए। उनको निधनपश्चात् विभिन्न मिडियाले कलाकार श्रेष्ठ विरुद्ध समाचार सम्प्रेषण गरेका थिए। तिनै समाचारप्रति उनले आपत्ति जनाएकी हुन्।
उक्त घटना पश्चात केही सिनेकर्मी, केही पदाधिकारीहरू पूर्वाग्राही ढंगले एकलौटी रुपमा विभिन्न मिडियामार्फत कपोलकल्पित समाचार लेख्न र लेखाउन कार्यमा सक्रिय भएको आरोप समेत उनले लगाएकी छन् ।
उनले ‘आत्महत्या’जस्तो संवेदनशील विषयलाई ‘ग्लोरिफाइ’ गर्न उचित नहुने बताउँदै केही अनलाइन मिडियाहरूले ‘भ्युज’का लागि कपोकल्पित एकतर्फी रुपमा प्रकाशन गरेको बताएकी छन्।
उनले आफ्नो मौनतालाई कमजोरी नठान्न अपीलसमेत गरेकी छन् । सारुकको मृत्यु प्रकरणमा आफूले प्रहरी प्रशासनमा उपस्थित भएर बयान दिइसकेको भन्दै नम्रताले सारुकप्रति न्यायको माग गर्दै ‘जस्टिस फर सारुक’ लेखेकी छन् ।
‘एक जना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला सायद! किनकि, यो पुरुषप्रधान समाज हो। ठीकै छ ..मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु, म एक महिला मात्र नभएर कलाकार पनि हो,’ उनले भनेकी छन्।
विभिन्न मिडियाले आफू हङकङतिर गएको झूटो प्रचार गरेको भन्दै उनले आपत्ति जनाएकी छन्। घर र अस्पतालबााहेक आफू कतै नगएको पनि उनले जानकारी दिएकी छन्।
रहरी अनुसन्धानमा आफ्नो र परिवारको तर्फबाट सहयोग रहने उल्लेख गर्दै नम्रताले प्रहरीले दूधको दूध पानीको पानी हुने गरी अनुसन्धान हुनेमा आफू आशावादी रहेको बताएकी छन् । उनले प्रहरी अनुसन्धानमा अवरोध नगर्न पनि आग्रह गरेकी छन् ।