
काठमाडौं । विभिन्न मितिमा हराएका १८ ओटा दुईपाङ्ग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२ मोटरसाइकल र ६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको बताए ।
सवारी धनी स्वयम् पनि विशेष सजग हुनुको साथै सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, साइरनहरू जडान लगायतका सुरक्षाका विभिन्न उपायहरू अवलम्वन गर्न उनले आग्रह गरे ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त ८ सय ३२ वटा निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका १ सय ७७ मध्ये १ सय ३४ वटा सवारी साधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाएको छ ।
चालु आर्थिक वर्षमै चोरीका ११ ओटा मोटरसाइकलसहित संलग्न १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयमा पठाएको छ ।
साथै सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।