
काठमाडौँ । दाङ र अर्घाखाँचीमा नाबालिकामाथि जबरजस्ती करणी भएको छ ।
अर्घाखाँचीमा आइतबार साँझ ११ बर्सिया बालिका र दाङमा सोमबार दिउँसो ९ वर्षकी बालिकामाथि जबरजस्ती करणी भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र रावलका अनुसार नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका-९ घर भई हाल सन्धिखर्क नगरपालिका-२ चुत्रावेशी बस्ने वर्ष २१ को राम बहादुर पुनलाई नियन्त्रणमा लिइएको हो ।
घटना आइतबार साँझ ८:०० बजे भएको बताइएको छ । आरोपित व्यक्तिमाथि अनुसन्धान जारी रहेकाले थप कुराहरू खुल्दै जाने उनले केटिएम दैनिकलाई बताए ।
त्यस्तै ९ बर्सिया बालिकामाथि करणी गरेको अभियोगमा दाङ प्रहरीले अधबैँसे पुरुषलाई नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो ती बालिकामाथि करणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेपछि प्रहरीले घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई अनुसन्धानको लागि मङ्गलवार नियन्त्रणमा लिइएको हो ।
दाङ प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लका अनुसार जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले वि.क. लाई पक्राउ गरेको हो ।
नेपालको कानुले १८ वर्षभन्दा कम उमेरका किशोरी/बालिकामाथि राखिएको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी मान्दछ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (२) का अनुसार अठार वर्षभन्दा कम उमेरको बालिकासँग (मञ्जुरी लिएर वा करकापमा पारेर वा जबरजस्ती गरेर ) करणी गरेमा त्यसलाई जबरजस्ती करणी गरेको मानिन्छ भनेर स्पष्ट उल्लेख गरेको छ ।
कानुनले कसुर गर्ने व्यक्तिलाई पीडितको उमेर र परिस्थिति हेरेर विभिन्न कैद सजाय, जरिवाना र क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।
दश वर्षभन्दा कम उमेरकी बालिकामाथि करणी गर्नेलाई जन्मकैद र दश देखि १४ वर्ष उमेरका बालिकामाथि करणी गर्नेलाई अठार देखि बीस वर्षसम्म कैद हुने र दुवैको हकमा सात लाख रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ ।