
विराटनगरस्थित कोशी अस्पतालमा काम गर्दाको कुरा हो । यकिनका साथ मिति त भन्न सक्दिनँ । तर, ६ वर्षअगाडिको कुरा हुन सक्छ । मैले एउटा ‘क्रिटिकल केस’ को सामना गर्नुपर्यो । असुरक्षित गर्भपतनका कारण अवस्था गम्भीर बनेपछि कोशी ल्याइएको रहेछ ।
अन्तैतिर गर्भपतन गर्दा आन्द्रा र पिसाब थैलीमा प्वाल परेपछि एक जना युवतीलाई ल्याइएको थियो । ‘अनवान्टेड प्रिग्नेन्सी’ को अन्त्य सूचीकृत नभएको ठाउँमा गएर अन्त्य गर्दा उहाँ जीवन—मृत्युको दोसाँधमा हुनुहुन्थ्यो । तर, हामीले उहाँलाई निको पारेर घर पठायौं ।
सन् २०१३ मा मैले सुरक्षित गर्भपतनको तालिम लिएको हुँ । त्यसयता करिब एक हजार पाँच सय जनाको सुरक्षित रूपमा गर्भपतन गराएँ होला ! तर, त्यो मैले सामना गरेको एउटा क्रिटिकल केस थियो ।
त्यसका तुलनामा अलि सहज अवस्था केसमा मैले काम गरेको छु । मजस्ता थुप्रै चिकित्सकहरूसँग असुरक्षित गर्भपतनका कारण सिर्जित गम्भीर स्वास्थ्य समस्या लिएर अस्पताल आएका बिरामीलाई ठिक परेको अनुभव सङ्गाल्नुभएको होला ! असुरक्षित गर्भपतन अहिले पनि कायमै रहेकाले गर्दा अझै कस्ता–कस्ता केसको सामना गर्नुपर्ला ।
नेपालमा प्रतिवर्ष तीन लाख २३ हजार महिलाले गर्भपतन गराउँछन् । तीमध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेको सरकारी तथ्याङ्कले जनाएको छ । सरकारले दुई दशकअगाडि नै कानुनी रूपमा गर्भपतनलाई फुकुवा गरे पनि अझै असुरक्षित गर्भपतन गराउनेको अपेक्षित रूपमा सङ्ख्या घट्न सकेको छैन । बरु, सामाजिक लाञ्छना, डर, औषधिको सहज उपलब्धा, गोपनीयताको बाहनालगायत अन्य कारणहरूले गर्दा असुरक्षित गर्भपतनको ग्राफ झन् उकालो लागिरहेको छ ।
सीमित स्वास्थ्य संस्थामा मात्र सुरक्षित गर्भपतन सेवा सञ्चालन हुनु, गर्भपतनसम्बन्धी सामाजिक लाञ्छना र भेदभाव कायम हुनु, सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको जानकारी नहुनु, महिलालाई सुरक्षित गर्भपतन सेवा कहाँ पाइन्छ भन्ने कुरा जानकारी नहानु र सरकारी स्वास्थ्य संस्थामा सेवा लिन कठिनाइ हुुँदा असुरक्षित गर्भपतन एउटा चुनौतीका रूपमा खडा भएको छ ।
अनिच्छित रूपमा बसेको गर्भ लिएर स्वास्थ्य संस्था पुग्नुपर्ने झन्झट मान्ने अहिलेका युवापुस्ता औषधिको सेवन गरेर गर्भपतन गराउन माहिर बनेको छ । पैसाको लोभमा डाक्टरको ‘प्रेस्किप्सन’बिनै औषधि पसलले गर्भपतनका लागि औषधिहरू उपलब्ध गराउने हुँदा त्यहाँबाट किनिएको औषधि विधि हेरेरै सेवन गर्छन् ।

सुरक्षित गर्भपतन: बलात्कारबाट बसेको गर्भको अर्धन्याय !
घटना–१ लक्ष्मीपूजाको राति। भोजपुरको पाङ्चा गाउँपालिका–१० देउसी–भैलोले गुञ्जायमान थियो। स्थानीय ११ वर्षीया...
मङ्गलवार, वैशाख १९ २०८०विशेषगरी विवाहअघि गर्भवती भएकाहरूले मेडिकलमा सजिलै पाइने औषधिको प्रयोग, वा नराम्रो ढङ्गले सञ्चालित क्लिनिकलगायत गैरकानूनी किसिमले गर्भपतन गराउने स्थानमा जाने गर्छन् । अनिच्छित रूपमा गर्भ रहन गएमा माथि उल्लेखित जुनसुकै उपाय अपनाएर भए पनि गर्भपतन गराउन पाएहुन्थ्यो भन्ने गर्भवतीहरूलाई लागेको हुन्छ ।
तर, तालिमप्राप्त चिकित्सकको परामर्शबिना यसरी गर्भपतन गराउँदा धेरै महिलाहरूको ज्यानसमेत जान सक्ने हुन्छ । ज्यान नगएको खण्डमा पनि विभिन्न प्रकारको सङ्क्रमण हुने, दीर्घकालीन पीडा भइरहने र पटक—पटक असुरक्षित रूपमा गर्भपतन गराए बाँझोपन हुनेजस्ता समस्या आइलाग्ने सम्भावना रहन्छ ।
त्यस्ता चिकित्सकको परामर्शबिनाको औषधि सेवन तथा गैरकानुनी किसिमले गर्भपतन गर्न सक्ने अवस्था नभएपछि, वा अवस्था निकै जटिल भएपछि मात्र उनीहरू गर्भपतनका लागि सूचीकृत भएको संस्थामा पुग्ने गरेका छन् । अवैध रूपमा गर्भपतन गराउनेको सङ्ख्या उच्च रहेको र अहिले यो समस्या निकै जटिल रहेको छ ।
गर्भपतन नेपाल सरकारले तोकिएको ठाउँमा दर्ता गरिएका तथा तालिमप्राप्त स्वास्थ्यकर्मीहरूले गर्नुपर्ने हुँदाहुँदै पनि यो कुरा कत्ति पनि लागू भइरहेको छैन । गर्भपतन भनेको तोकिएको ठाउँ र तालिमप्राप्त स्वास्थ्यकर्मीले ‘काउनसेलिङ’ गराएर गराउनुपर्ने हो । तर, अहिले चोकचोकमा गर्भपतन गराउने ट्याब्लेटहरू सजिलै उपलब्ध हुने हुँदा गर्भमा रहेको भ्रुण कति हप्ताको छ, कस्तो अवस्थामा छ, बच्चा कहाँ बसेको छ अनुमान नलगाई प्रयोग गरेको पाइन्छ ।
कतिपय कमसल औषधिहरूको प्रयोग, खाने विधि गलत भएमा, परामर्शको कमीका कारणले औषधि खाएर अत्यधिक रक्तश्राव हुने गर्छ । अत्यधिक रक्तश्राव भएपछि मात्र धेरै जना अस्पताल आउने गर्छन् । यस्तो समयमा रगत चढाउनु पर्ने, क्युरेट गरेर पाठेघर सफा गर्नुपर्ने हुन सक्छ ।
अत्यधिक रक्तश्राव भएमा र समयमा उपचार हुने नसकेमा ज्यान पनि जान सक्छ । विवाहअघिको सम्बन्धले समाजमा बद्नाम हुने, पारिवारिक र सामाजिक बहिस्कारमा पर्ने डर तथा लाजका कारण, कतिपय पेटमा भएको बच्चा १२ हप्ताभन्दा ठूलो भइसकेपछि, वा धेरैले छोरा, छोरीको भ्रूण छुट्टयाएर अवैध तरिकाले गर्भपतन गराउने तर, कोशी अस्पताल जस्ता गर्भपतनका लागि तोकिएका ठाउँहरूमा उनीहरू आइनपुग्ने वा अवस्था अत्यन्तै गम्भीर भएपछि मात्र आउने गरेका छन् ।
कतिपय महिलाहरू भ्रुण पहिचान गरेर गर्भपतन गराउन, धेरै सन्तान भएका, वा पेटमा रहेको बच्चा १२ हप्ता कटिसकेपछि गम्भीर अवस्थामा समेत आउने गर्छन् । अवैध तरिकाले गर्भपतन गर्ने ठूलो धन्दा नै रहेपनि यसको वास्तविक डाटा भने कसैले दिन सक्दैन ।

सामाजिक लाञ्छनाले जेलिएको सुरक्षित गर्भपतन
सन् २००२ अघि नेपालमा गर्भपतन निषेध थियो। यसैले पनि गर्भवती महिला...
बुधवार, चैत २९ २०७९जति पनि पैसा खर्चेर गर्भपतन गर्न तयार हुने हुँदा अवैध तरिकाले गरिने गर्भपतनले युवती तथा महिलाको स्वास्थ्य र पैसा दुवैलाई क्षति गर्छ । ज्यान नै जाने धर भए पनि उनीहरू तोकिएका संस्थामा पुग्दैनन् र पुग्न पनि चाहँदैनन् । गर्भपतनका लागि चोकचोकमा रहेका औषधि पसलमा उपलब्ध हुने औषधि सेवन गरेर त्यसका जोखिम झेल्नेहरू यहाँ हजारौं छन् जुन हामीले अनुमान पनि गर्न सकेका हुँदैनौं । डर, लाज, शिक्षाको कमी, परामर्श र पूर्ण परीक्षणविना अवैध तरिकाबाट गरिने गर्भपतनबाट महिलो मृत्यु हुने जोखिम धेरै हुन्छ ।
अस्पतालहरूले महिलाहरूको मृत्युदरको तथ्याङ्कहरू बनाए पनि हामीले देख्ने सङ्ख्या निकै कम मात्र हो । यहाँ केलाएर हेरेमा अन्य धेरै देखापर्ने गर्छन् । त्यसैले, गर्भपतन सेवाका लागि कानूनी मापदण्ड पूरा हुनुपर्छ । गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत तथा तालिम लिएको हुनुपर्छ । पहिचान गर्न सजिलो होस् भनेर गर्भपतन सेवाका लागि सूचीकृत भएका वा मान्यताप्राप्त संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ ।
यस्ता सूचीकृत संस्थामा तालिमप्राप्त चिकित्सकबाट गरिएको गर्भपतनबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन । एक प्रतिशतभन्दा पनि कममा मात्र सामान्य समस्या देखिने गरेको तथ्याङ्क छ ।
गर्भपतन गराउँदा तीन महिनाभित्र (१२ हप्ता) मा कानूनी रूपमा तोकिएको ठाउँमा गएर तालिमप्राप्त तथा अनुभवी स्वास्थ्यकर्मीबाट, उपयुक्त औजार र साधनको प्रयोग गरी सफासँग गरिएको छ भने मात्र गराउन उनी सुझाव दिन्छन् । यसले गर्दा पाठेघरमा सङ्क्रणम गर्ने जीवाणुको प्रवेश हुँदैन र महिलाको स्वास्थ्यमा पनि हानि पुग्दैन ।
(विराट मेडिकल कलेज बूढीगङ्गामा कार्यरत स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. जीवन धमलासँग गरिएको कुराकानीमा आधारित)