
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन दिएको थियो ।
मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय फिर्ता लिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर छ/छ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर दुई सय १५ रूपैयाँ बढाउने निर्णय गरेको थियो ।
त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर आठ रूपैयाँ बढाइएको थियो । मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार एक सय १० रूपैयाँ पुगेको थियो ।
मूल्यवृद्धि फिर्ता भएसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८३, डिजेल र मट्टितेलको १७३ कायम हुनेछ भने खाना पकाउने ग्याँस सिलिन्डढरको मूल्य नेपालभर एक हजार ८९५ भएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलको हकमा निगमले तीनवटा वर्ग छुट्टाएर मुल्य निर्धारण गर्ने गरेको छ ।
पहिलो वर्गमा झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलाबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् भने दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् ।
काठमाडौं, पोखरा र दिपालयलाई निगमले तेस्रो वर्गमा राखेको छ । पेट्रोलियम पदार्थको मूल्य पहिलो र दोस्रो वर्गमा प्रतिलिटर दुई रुपैयाँको फरक छ भने पहिलो र तेस्रो वर्गमा लिटरको तीन रुपैयाँको फरक पर्न आउँछ ।