प्रिय प्रा. डा. इन्दु आचार्य ज्यू,
आज अलि फरक औपचारिक सम्बोधनबाट सुरु गरेको छु, अनौठो न मान्नु होला। आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तपाईँको पेसागत जीवनमा तपाईँका सङ्घर्ष र सफलताका खुट्किलाहरू लाई फर्केर हेर्दा गौरवान्वित भएर मेरो छाती ढक्क फुलेको छ भने मेरो नाक ठाडिएर सगरमाथा सँग प्रतिस्पर्धा गरिरहेको छ । यस्तो महसुस गरी रहँदा मेरो आफ्नो मन मस्तिष्कमा आएका केही कुराहरू यहाँ लेख्ने प्रयास गरेको छु । आफ्नो विषयका कुराहरूलाई सामाजिक अलङ्कार बनाउन नरुचाउने तपाईँको स्वभाव विपरीत यी कुराहरू सार्वजनिक रूपमा लेखेकोमा क्षमा चाहन्छु, तर तपाईँको पेसागत जीवनको सङ्घर्ष र सफलताले हाम्रा छोरीपुस्ताहरु लाई केही सकारात्मक सन्देश दिने छ भन्ने लागेर आज यो जमर्को गरेको हुँ ।
४० वर्षअघि धरान जस्तो सानो ठाउँमा औसत मध्यम स्तर को ‘बाहुन’ परिवारबाट छोरी लाई पढाउने, उच्चशिक्षा हासिल गर्न एक्लै काठमाण्डौं सम्म पढ्न पठाउने कुरा आफैमा क्रान्तिकारी कदम हो भन्ने लाग्दछ । माता पिताको त्यो सोच र तपाईँको आफ्नो आँटले नै आज तपाईँ जहाँ हुनुहुन्छ त्यहाँ सम्म पुग्ने बाटो खोलेको हो भन्नै पर्ने हुन्छ । मेरो दुर्भाग्य, मैले मेरो ससुरा बुवालाई भेट्न पाइन, तर घरमा हुर्केकी छोरी (तपाई १० कक्षा तिरै हुँदा) माग्न केटाको प्रस्ताव लिएर आउनेहरूलाई बुवाले “मेरो घर मा त छोरी छैनन् पल्लो घर तिर छन् कि” भन्नु हुन्थ्यो भन्ने तपाईँबाटै सुनेको हो, वहाँले त्यसो किन भनेको होला ? अनि हजुरहरूले कसरी एक्ली छोरी लाई बाहिर पठाउन सक्नु भयो त भनेर आमालाई सोध्दा बुवालाई मेरी छोरी ठुली मान्छे हुन्छे’ भन्ने थियो, उसले पनि जाने आँट गरी अनि पठाईयो’ भनेर सहज उत्तर दिनु भयो । गौरव लाग्छ त्यस वेलाको समाज मा पनि वहाँहरू को त्यस्तो सोच प्रति, अनि गौरव लाग्छ तपाईँको आँट प्रति ।
‘पैसा, पद र आत्म अभिमान’ लाई सफलता र ठुलो मान्छे भएको सङ्केत मान्ने अहिलेको स्थितिमा तपाईँ “ठुलो मान्छे” बन्नुभयो कि भएन थाहा छैन तर ३२ वर्ष अनवरत रूपमा ‘विशुद्ध शिक्षण कार्य’ गरेर प्राज्ञिक जगतको ‘प्राध्यापक’ जस्तो गरिमामय उपाधि प्राप्त गर्नु भयो । यस्तो उपाधि जो भूतपूर्व हुँदैन, “A Professor is always a professor भन्ने भनाइ छ । राष्ट्रपति पनि भूतपूर्व हुन्छन् तर प्राध्यापक सधैँ प्राध्यापक रहन्छन् तपाईँका मन पर्दा विद्वान नोम चोम्स्की ९४ वर्षका भए तर उनी आज पनि ‘प्राध्यापक चोम्स्की’ नै भनिन्छन्।
तपाईँको विद्यावारिधिको विषय ‘(नेपालका) प्रमुख राजनीतिक दलका नेतृत्वदायी तहमा महिला सहभागिताको स्थिति र चुनौती’ विश्वमा नै आफैँमा एक्लो सोध पत्र हो भन्ने मेरा धेरै अन्तर्राष्ट्रिय प्राज्ञिक मित्रहरूको भनाई छ, सबैले ‘राजनीतिमा महिला; भन्ने बुझेर आम निर्वाचनका नतिजा केलाउने गरेकोमा तपाईँले नेपालका राजनीतिक दल भित्र किन महिला नेतृत्वदायी पदमा पुग्न सकिरहेका छैन भन्ने केलाएर राख्ने नौलो काम गर्नु भयो, यसमा गर्व गर्न मैले अरूको मुख हेरी राख्नु पर्दैन !
धरान जिरो प्वाइन्टकी ‘आचार्य माइली आमाकी कान्छी छोरी तपाई यो ठाउँमा पुग्दा ‘ठुलो मान्छे’ भएकै हो, परम्धामबासी बुवाले त्यही भनिरहनु भएको छ होला । अनि यस्तो व्यक्तित्वको जीवनसाथी पाएर मेरो नाक किन न तन्कियोस् त ।
३२ वर्षे तपाईँको ‘प्राध्यापनको तपस्या’ मा मैले कहिल्यै पनि तपाईँले लिएका कक्षा हेर्ने मौका पाइन् तर पछिल्लो समयमा अनलाइन कक्षा लिएको भने देखेको छु । मेरो स्वर्गीय बुवा वरिष्ठ पत्रकार श्री कोशराज रेग्मीले भन्नु हुन्थ्यो ‘मेरो बुहारीलाई कक्षा कोठा मा छिरेपछि अद्वितीय जोस र ऊर्जा आउँछ-उनलाई साधारण नठान’ यो बुवाको अनुमान थियो वा विश्लेषण थाहा छैन तर तपाईँका सहकर्मी, तपाईँका विद्यार्थी र ‘प्राध्यापक इन्दु’ लाई चिन्नेहरूले तपाई को पेसा प्रतिको निष्ठा, लगन र आफ्नो विषयप्रतिको दक्षताका बारे मैले सुन्ने मौका बारम्बार पाएको छु ।सुत्केरी भएको १५ दिन मै पढाउन कलेज जाने तपाईँको कार्य सायद आफैँ त्यसको प्रमाण हो ।
३२ वर्षको अवधिमा कहिल्यै तपाईँले पुरानो लेक्चर नोट प्रयोग न गरेको देख्दा प्रत्येक लेक्चर तपाईँको लागी नयाँ सरह हुने अनि ४/४ घण्टासम्म पूर्व तयारी गर्ने तपाईँको शैली कमसेकम हाम्रा विश्वविद्यालयहरू को ‘शिक्षण र सिकाई’ को औसत स्तर हेर्दा तपाईं कुनै अर्कै ग्रहबाट आएको जस्तै देख्छु म, त्यसैले ‘विशुद्ध शिक्षण’ अनि केवल ‘शिक्षण’ को तपाईँको मान्यता प्रति सलाम छ ।
मेरो व्यक्तिगत अनुभवमा नेपालमा उच्च शिक्षाको क्षेत्र (त्रि.वि/कलेजहरू) भनेको ‘लैङ्गिक अन्धता र महिला विरुद्ध लैङ्गिक विभेद’ अति उच्च भएको ठाउँ हो । यस्तो वातावरणमा ‘पुरुष प्रधान व्यवस्थापन’ को भेदभावको सिकार पटक-पटक हुनुभयो तपाईँ, विश्वविद्यालयले तपाईँको क्षमता वृद्धिमा १ रुपियाँ लगानी गरेको मलाई सम्झना छैन तर आफ्नै बलबुतामा क्यानडा, अमेरिका अध्ययनका लागी पुग्न भयो, ५०सौँ लेख, २०सौँ अनुसन्धान लेखहरू, १५ भन्दा बढी अनुसन्धान पत्रहरू, ३० भन्दा बढी कार्यपत्रहरू, १० वटा पुस्तक अनि विद्यावारिधिको शोध ग्रन्थ तपाईँको टोपीका सुनौलो प्वाँखहरू देखेर मेरो छाती सम्झाउँदा पनि नटेरीकन फुलेर चौडा हुन्छ ।
तपाईँको ३२ वर्षे उच्च शिक्षा क्षेत्रको लामो अवधि पद्मकन्या क्याम्पसमा बित्यो त्यसैले तपाईँका विद्यार्थीहरूको जमातमा ‘छोरी’हरू बढी हुने नै भयो। गुरु पूर्णिमा को दिन अनि आमाको मुख हेर्ने दिन तपाईँका तिनै छोरीहरू मध्ये कति कोसेली र मिठाई बोकेर तपाई जहाँ हुनुहुन्छ, त्यहीँ पुग्ने, अनि तीजमा हाम्रो घरमा तपाईका यिनै विद्यार्थी छोरीहरूको ‘दर खुवाई’ को जमघट देखेर म हर्ष विस्मित हुने गर्दछु, अनि सोच्दछु शिक्षाको चरम व्यापारी करणको वर्तमान अवस्थामा तपाई आफ्नै “गुरुकुल” चलाउनु हुन्छ ।
उच्चशिक्षा का नीति बनाउने सरकारी समितिमा सदस्य रहेर होस वा विश्वविद्यालय अनुदान आयोगको Quality Assurance and Accreditation (QAA) विज्ञको रूपमा काम गरी रहँदा उच्च शिक्षामा गुणस्तर, पहुँच, तथा उचित शुल्क (नसक्नेलाई निःशुल्क) (Quality, Access, Affordability) प्रति तपाईँको अडान सधैँ कायम रहेको पाउँछु । सामाजिक न्याय प्रतिको यो अटल नीति तपाईँको अर्को विशेषता नै त हो नि, हैन र ?
मुलुकमा राजनीतिक नियुक्तिका लागी सबै थोक गर्ने अहिलेको अवस्थामा तपाईँले कहिल्यै ‘महिला कार्ड’ आफ्ना लागी प्रयोग गर्नु भएन, न त चाकरी र नजरानाको पोको प्रयोग गर्ने सोच्नु भयो बरु राजनीतिक नियुक्तिबाट टाढै बस्नु भयो- ‘योग्यता’ खोजेर यस्ता नियुक्ति हुने दिन यो मुलुकमा शायदै आउला । तर राजनीतिक नियुक्तिको भुतपुर्बको बिल्ला बिना पनि तपाई गर्ब गर्न र सम्मान गर्न योग्य हुनुहुन्छ भन्ने मेरो मान्यता छ।
तपाईँका निजी/पारिवारिक जीवन, राजनीतिक जीवन, अनि तपाईँको सामाजिक जीवनमा उतार चढाव आए होलान, तपाईँलाई मन पराउने वा मन नपराउनेहरू सबै क्षेत्रमा भए होलान् । प्रस्ट वक्ता, कडा तथा सही कुरामा अडान लिने, गलत कुराको विरोध गर्ने तपाईँको स्वभावले परिवार भित्र पेसागत/ राजनीतिक समूहभित्र तपाईँ प्रति इख राख्नेहरू मैले देखेको छु । यस्ता तत्त्वबाट तपाईँलाई जोगाउने सधैं मेरो चिन्ता रहन्छ तर तपाईँ सधैँ त्यस्ता कुराबाट अप्रभावित रहने र आफ्नो सही अडान न छोड्ने स्वभावलाई निरन्तरता दिनुहुन्छ, आफ्नो स्वाभिमान प्रति को अडिगता तपाईँको अर्को विशेषता नै हो । ‘पुरुषवादी सोच’ मा जकडिएको हाम्रो समाजका पेसागत क्षेत्रमा महिलाले आफ्नो आत्मसम्मान र स्वाभिमानलाई कायम राख्न यस्तो स्वभाव आबश्यक छ भन्ने मलाई लाग्दछ । ‘ए महिला त हुन जसो गरे पनि हुन्छ, यिनले के जान्दछन् र’ भन्ने वातावरणमा हेपिनु र झन् पछि पारिनु भन्दा यस्तो स्वभाव राखेर ‘घमन्डी’ को उपाधि पाउनु उचित हो । यस अर्थ मा परिवार, पेसा/ राजनीतिक वृत्त मा यदि कसैले तपाईँलाई घमन्डी भन्छ भने भनिरहुन् – तर मलाई तपाई को यो ‘घमन्ड’ प्रति झन् ठुलो घमन्ड छ ।
तपाईँको जीवनका आगामी दिनहरू हाम्रा छोरीपुस्ता हरुलाई तपाईँ जस्तै पेसागत दक्षता र लगनशीलता, पुरुषवादी सोचसँग योग्यताले लड्ने र आफ्नो आत्मसम्मान, स्वाभिमान कायम राख्न आफूलाई ‘घमन्डी’ बनाउन प्रेरणा दिनमा बितोस, तपाईँ र तपाईँजस्ता सबै नारीहरूमा अन्तर्राष्ट्रिय नारी दिवसको यहि धेरै धेरै शुभकामना ।
भवदीय ।
राघव राज रेग्मी
तपाईको जीवनसाथी