
पर्सा । घरपरिवारका सदस्य मिलेर बीरगञ्ज महानगरपालिका-१४ बहुअरीमा महिमा खातुनको हत्या गरेको खुलेको छ ।
कात्तिक ४ गते राती घरायसी विवादको क्रममा खातुनलाई सासू,ससुरा, श्रीमान् र सौता (जेठी श्रीमती) ले कुटपिट गरेपछि श्रीमान् एजहारूलहक अन्सारीले शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेका थिए ।
गम्भीर घाइते भएकी खातुनलाई उपचारको लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा लगिएकोमा कात्तिक ५ गते बिहान १०:३० बजे निधन भएको हो ।
चक्कुले छाती तथा पेटमा प्रहार हुँदा गम्भीर घाइते भएकी खातुनलाई अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो
खातुन अन्सारीको कान्छी श्रीमती हुन् । अन्सारीका दुई वटा श्रीमती रहेको खुलेको छ ।
खातुनको निधन भएपछि पर्सा प्रहरीले ४५ वर्षीय एजहारूलहक अन्सारीलाई र जेठी श्रीमती नुरजहान खातुनलाई पक्राउ गरेको छ ।
उनीहरूमाथि ज्यान सम्बन्धी कसुरमा अदालतबाट बाह्र दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाका अनुसार घटनामा संलग्न ससुरा वर्ष ६५ को फजल करिम मियाँ र सासू आमा वर्ष ६३ की सरिफन खातुन अहिलेसम्म फरार नै छन् ।
फरार रहेका दुई जनाको खोजतलास जारी रहेको प्रवक्ता थापाले बताए ।