काठमाडौँ । आजभन्दा करिब तीस वर्ष अगाडि नेपालमा भर्खर आधुनिक घरहरू निर्माण सुरु हुने प्रक्रिया बढ्दै थियो । सोही क्रममा रंगरोगनको माग पनि बिस्तारै बढ्दै थियो ।
चितवन भरतपुरका तीन दाजुभाइ गुणनिधि अर्याल, लक्ष्मण अर्याल र मधुसुदन अर्यालले अवसरको खोजी गरिरहेका थिए । सुरुमा उनीहरूले कपडा धुने सर्फ, नेल पोलिस लगायत उत्पादन गरेपनि चित्तबुझ्दो व्यापार भएन ।
५० को दशकको सुरुमै बढ्दो आधुनिक घर निर्माणको अवसर देखेर दाजुभाइहरूबीच रङको उद्योग सुरु गर्ने सल्लाह भयो । भरतपुरमै उद्योग स्थापना भयो । अपरेसन, मार्केटिङ र सप्लाईको काम दाजुभाइमा बाँडियो । समयको आवश्यकता, अर्याल दाजुभाइको टीमवर्क र मेहनतले पेन्ट्स उद्योगमा उनीहरू सफल हुँदै गए । जस कारण तीस वर्ष देखि अनवरत यात्रामा छ जस्मिन पेन्ट्स ।
उद्योगको नेतृत्व गरिरहेका छन् लक्ष्मणले । सामान्य पारिवारिक पृष्ठभूमि अनि सामान्य लगानीबाट सुरु भएको जस्मिन पेन्ट्स अहिले स्वदेशी पेन्ट्स उद्योगको क्षेत्रमा उत्कृष्ट बन्न सफल भएको छ ।
अर्यालका अनुसार, मुलुकभरका करिब ६० जिल्लाका १००० डिलरले जस्मिन पेन्ट्सको व्यापार प्रवर्द्धनमा सहयोग गरिरहेका छन् । अहिले उद्योगमा मात्रै २ सयभन्दा बढीले रोजगारी पाएका छन् ।
उद्योगले हालै ताइवानको इनोभेसन टेक्नोलोजी पेन्ट्स कम्पनी लिमिटेडसँग टेक्नोलोजी कोल्याबोरेसन पार्टनरसिप समेत गरेको छ । भविष्यमा नवीन प्रविधि र उपभोक्ताको माग अनुसारको अझ उत्कृष्ट उत्पादनहरू बजारमा ल्याउने उद्योगको योजना छ ।
अवार्ड र सर्टिफिकेसन
वि.सं. २०५१ बाट पेन्ट्स उत्पादन सुरु गरेको जस्मिनले विभिन्न माइलस्टोनहरू पार गर्दै नेपालकै नम्बर एक पेन्ट्स बन्न पुगेको कम्पनीका निर्देशक मधुसुदन अर्याल बताउँछन् । उनका अनुसार उद्योगमा अहिले अर्बभन्दा बढी लगानी पुगिसकेको छ ।
यसबीचमा कम्पनीका उत्पादनले आईएसओ गुणस्तर चिह्न ९००१:२००० सर्टिफिकेसन पाइसकेको छ । यस्तै जस्मिन पेन्ट्सले सन् २०१८ मा ‘इन्टरनेसनल बिआईडी क्वालिटी अचिभमेन्ट गोल्ड अवार्ड-लण्डन’ र ‘नेपाल वेस्ट ब्राण्ड लिडरसिप अवार्ड-२०१८’ पाइसकेको छ । साथै भरतपुर महानगरपालिकाले त्यस क्षेत्रकै उत्कृष्ट उद्योग तथा उत्कृष्ट करदाताको रूपमा सम्मानित गरेको छ ।
दैनिक २० टनसम्म उत्पादन क्षमता
सुरुवाती समयमा दैनिक एक टन मात्रै उत्पादन गरेको यस उद्योगले हाल दैनिक २० टनसम्म उत्पादन गर्दछ । जस्मिन पेन्ट्सका हालका अत्यधिक रुचाइएका उत्पादनमा बाहिरी भित्ताका लागि ‘कूल पेन्ट्स’, रोयल ग्लेज, वेदर केयर रहेका छन् भने भित्री भित्ताका लागि होम, ट्रिम, म्याजोलिका ईमल्सन रहेका छन् ।
यस्तै अन्य रङ्ग रोगनका लागि आवश्यक इनामेल, डिस्टेमर, प्राइमर, ड्याम कन्ट्रोल पनि उद्योगमा उत्पादन तथा बिक्री हुँदै आएको छ । साथै आगामी दिनमा थप नयाँ उत्पादन ल्याउने गरी काम भइरहेको कम्पनीका नेशनल सेल्स म्यानेजर डिल्लीराम पौडेलले बताए ।
सामाजिक उत्तरदायित्व
उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत खास गरी बालबालिका र वृद्ध वृद्धालाई सहयोग गर्दै आइरहेको छ । साथै मिसीका फाउन्डेसनमार्फत विभिन्न स्कुलहरूमा पनि सहयोग गर्दै आइरहेको छ ।
२०७२ को भूकम्प पछि पर्यटकको लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिँदै जस्मिन पेन्ट्सको झन्डा सगरमाथामा फहराइएको थियो । साथै विश्वकै ठुलो ढाका टोपी निर्माण गरी सो को विभिन्न मेला र पर्वहरूमा प्रदर्शन गर्दै आएको अर्याल बताउँछन् ।
वार्षिकोत्सवका अवसरमा उद्योगले रक्तदान तथा विभिन्न सहयोग लगायतका सामाजिक काम गरिने अर्यालले जानकारी दिए ।