काठमाडौं । नाबालिकाहरूलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले गेष्ट हाउस सञ्चालक महिलालाई नियन्त्रणमा लिएको छ ।
मानव बेचविखन तथा अनुसन्धान व्युरोबाट खटिएको टोलीले काठमाडौंको जडिबुटीमा टिमुरे क्याफे र चरिकोट गेष्टहाउस सञ्चालन गर्ने आशा लामा भन्ने लालमाया तामाङलाई सोमबार नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी तामाङको स्थायी घर धनकुटा छथर जोरपाटी गाउँपालिका-१ घर भएतापनि उनी दोलखाको भिमेश्वर नगरपालिका-१ मा बस्दै आएकी थिइन् ।
व्यवसायको सिलसिलामा विगत केही वर्षदेखि उनी काठमाडौंमा रहँदै आएको समेत खुलेको छ ।
उनले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाईदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीका अनुसार शुरुमा बालिकाहरुलाई क्याफे र गेष्टहाउसमा वेटरको काममा लगाउने र केही समयपछी ललाई फकाई प्रलोभनमा पारेर उनी आफैले संचालन गर्ने चरिकोट गेष्ट हाउसमा राखि वेश्यावृत्तिमा लगाउने गरेको पाइएको छ।
उनले बिगत तीन बर्ष देखी बालिकाहरूलाई बिभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग रकम लिई शारिरीक सम्पर्क राख्न लगाई सीमित रकम मात्र पीडित युवतीहरूलाई दिने गरेको समेत प्रहरी अनुसन्धानमा खुलेको छ ।
गेष्टहाउसबाट प्रहरीले पीडित दुई जना बालिकाहरुलाई उद्दार गरेर सुरक्षित आवासमा राखेको छ ।
पक्राउ परेकी महिलाउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको व्युरोले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
घटनामा संलग्न अन्य प्रतिवादीहरुको खोजतलास तथा थप अनुसन्धान कार्य भई रहेको ।