विराटनगर । स्रोत नखुलेको रकम सहित हुण्डी कारोबारमा संलग्न एक व्यक्तिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधवार साँझ ५:४० बजे विराटनगर-६ केशलिया मार्गमा को ७ प ५२२१ नम्बरको मोटरसाइकलमा सवार एक जनालाई श्रोत नखुलेको नेपाली नगद रु उन्नाइस लाख नब्बे हजार सहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक सुनसरी जिल्ला देवानगन्ज गाउँपालिका-५ बस्ने ४९ वर्षका सुरेन्द्र प्रसाद साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा साहलाई विराटनगर केशलिया मार्गबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका साहलाई बरामद गरिएको नगद र मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको मोरङ प्रहरी प्रवक्ता रञ्जन कुमार दाहालले जानकारी दिए ।
अवैध हुण्डी कारोबारलाई नियन्त्रण गर्न मोरङ प्रहरीले त्यसमा संलग्न कारोबारीहरूको सूक्ष्म अनुसन्धान गरी पक्राउ गर्न विशेष अपरेसन सञ्चालन गरिरहेको छ ।
यसै क्रममा विभिन्न मितिमा अवैध रकमसहित मानिसहरू पक्राउ पर्ने क्रम चलिरहेको छ ।