
काठमाडौं । अनलाइन बेटिङबाट २४ करोड रूपैयाँ बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका-१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँ प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।
इन्टरनेटको दुरूपयोग गरी अनलाइन जुवा, सट्टाबाजीजस्ता खेलहरू खेलाएर 0 गैरकानूनी रूपमा २४ करोड पन्ध्र लाख १७ हजार एक सय ३८ रूपैयाँ बराबर रकमको कारोबार गर्ने साहलाई झापाबाट पक्राउ गरी काठमाडौँ ल्याइएको हो।
उनले वान एक्स बेट, मेलबेट, रुपि बेट, स्काई चेन्ज, खेल विन, इन्डियो ट्वान्टी फोर बेट लगायतका वेवसाइटहरुको प्रयोग भएको देखिएको प्रहरीले उल्लेख गरेको छ ।
इन्टरनेटको प्राइभेट नेटवर्कको पब्लिक नेटवर्क आईपी एड्रेसबाट संचालन गरी पार्टीसिपेट एड्मिन युजरहरुलाई अनलाइनबाटै विभिन्न बैंक खाताहरुमा रकम जम्मा गर्न लगाई अनलाइन जुवा खेलाउने गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका साहलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौँमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।