काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने नेपाली दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दिल्लीमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाएर उनीहरूले नेपालबाट युवतीहरू त्यहाँ पुर्याउन र उनीहरूलाई यौन व्यवसायमा लगाउने गरेको अनुसन्धानमा खुलेको छ ।
पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका-७ घर भएका टिकाराम भण्डारी र उनकी श्रीमती टिका कुमारी वलीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पुष ११ गते कञ्चनपुर जिल्लाको सीमा इलाकाबाट पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ ।
प्रहरीको अनुसन्धानको क्रममा पक्राउ परेका दम्पतीले युवतीहरूलाई भारतमा आकर्षक तलब सुविधाको प्रलोभन देखाई तथा विभिन्न बहाना बनाई दिल्ली पुर्याउने गरेको खुलेको छ ।
उनीहरूले दिल्ली किशनगढमा अपार्टमेन्ट भाडामा लिएर खाने बस्ने व्यवस्था समेत मिलाएर अनलाइनबाट वेश्यावृत्तिको र्याकेट चलाउने गरेको पाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिए ।
ह्वाट्सएपमा ग्रुप बनाएर सम्पर्कमा आएका ग्राहकहरूबाट अनलाइनबाटै रकम लिएर ग्राहकले भनेको स्थानमा युवतीहरूलाई पठाउने गरेको समेत अनुसन्धानमा खुलेको छ ।
वेश्यावृत्तिबाट कमाई भएको रकमको २० प्रतिशत मात्र युवतीहरूलाई दिने र बाँकी रकम दम्पतीले आफै लिने गरेको पाइएको प्रहरी उपरीक्षक पंगेनीले बताए ।
पक्राउ परेका अभियुक्तहरूले भारत पुर्याएका ९ जना युवतीहरूलाई ब्युरोको समन्वयमा गत चैत १२ गते गते उद्धार गरिएको थियो । त्यस बेला यी दम्पती समेतको विरुद्धमा ६ वटा मुद्दा दर्ता भएकोमा ती मुद्दाहरूमा ३ जना प्रतिवादीहरू पक्राउ परी हाल पुर्पक्षको लागी कारागारमा थुनामा रहेका छन् ।
अनुसन्धान जारी नै रहेको अवस्थामा स्थान परिवर्तन गरी पुनः नेपाल बाट युवतीहरू झिकाई यौन व्यवसाय सञ्चालन गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो ।
उक्त सूचनाको आधारमा दिल्ली स्थित नेपाली दूतावास, भारतीय प्रहरी तथा किन इन्डियासंगको समन्वय पुष १० गते दिल्लीबाट थप पाँच जना युवतीको उद्धार गरी नेपाल ल्याइएको छ । उनीहरूलाई हाल हाल सुरक्षित आवास गृहमा राखिएको ब्युरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।