
काठमाडौँ । २०७० सालमा एक नाबालिकामाथि सामूहिक बलात्कारमा संलग्न मध्येका एक युवक घटना भएको दश वर्षपछि जेल पुगेका छन् ।
घटना विवरण अनुसार २०७० साल पुस सात गते दिउँसो घाँस काट्न खेतमा गएकी एक १५ बर्सिया बालिकामाथि तीन जनाले जबरजस्ती करणी गरेका थिए ।
सिरहा साबिक मुक्सार गाविस वडा नम्बर ५ बस्ने वर्ष १८ को नजामुदिन अली, सोही स्थानका १९ वर्षीय मनोज ठाकुर र दाउद अलीले ती बालिकामाथि जबरजस्ती करणी गरेका हुन्।
अभियुक्त मध्येका नजामुदिन अलीलाई घटना भएको पाँच दिनपछि प्रहरीले नियन्त्रणमा लिएको थियो भने ठाकुर र दाउद अली फरार थिए ।
फरार रहेका मध्येका मनोज ठाकुरलाई हिजो (शुक्रवार) इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र राज पाण्डेले केटिएम दैनिकलाई बताए ।
तीन जनाले पालैपालो गरेका थिए करणी
अदालतमा पीडित बालिकाले दिएको बकपत्रमा तीन जनाले पालैपालो करणी गरेको उल्लेख छ । ‘म घाँस काटिरहेको अवस्थामा नजामुदिन अली, दाउद अली र मनोज ठाकुर तिनै जनाले मेरो मुख बाँधेर नजिकैको झाडीमा लगी शरीरको पुरै लुगा फुकालेर पालै पालो जबरजस्ती करणी गरेका हुन् ।’
सबैभन्दा पहिलो नजामुदिन अलीले त्यसपछि क्रमशः दाउद अली र मनोज ठाकुरले करणी गरेको र करणी पश्चात् तीनै जना त्यहाँबाट भागेको र आफूले लुगा लगाएर घर गएको उनले बताएकी छन् । मुख बाँधेको हुनाले आफू कराउन, हल्ला गर्न नसकेको पनि उनले अदालतमा गरेको बकपत्रमा उल्लेख छ ।
पीडितलाई धाक धम्की दिएर गाउँमा गरिएको थियो मिलापत्र
घटना भएपछि बालिकाले आफ्नी आमालाई सबै कुरा बताइन् ।
छोरीमाथि तीन जनाले जबरजस्ती करणी गरेको सुनेपछि पीडित बालिकाको आमा जाहेरी दिन प्रहरी कार्यालय जाने बेलामा गाउँका अन्य व्यक्तिहरूले गाउँमा भएको घटना गाउँमै मिलाउनुपर्छ भन्दै प्रहरी कार्यालय पुग्नबाट रोकेका थिए ।
उनीहरूले पीडित परिवारलाई विभिन्न धाक धम्की दिँदै जबरजस्ती मिलापत्र कागजमा सहिछाप गर्न लगाएका थिए । अदालतमा बयान दिनको लागि उपस्थित हुँदा पीडित बालिकाको बाबुले भनेका छन्, ‘गाउँबाट निकाला गरिदिने धम्की दिँदै मिलापत्र कागजमा सहिछाप गराएका हुन् ।’
गाउँमा मिलापत्र कागज गरेतापनि पीडित परिवार न्याय खोज्नको लागि प्रहरीमा पुगे । प्रहरी कार्यालय पुगेर जाहेरी दिँदा उनीहरूले गाउँका छ जना भद्र भलादमीहरूले मिलापत्र कागज बनाएर सहिछाप समेत गराएको उल्लेख गरेका थिए ।
अदालतले मिलापत्र गराउने व्यक्तिहरूको पनि बयान लिएको थियो । अदालतसामू उनीहरूले दुवै पक्षको सहमतिमा छलफल गराएर गाउँमै मिलापत्र कागज बनाएर सहिछाप गरेको स्वीकार गरेका छन् ।
उच्च अदालतबाट धरौटीमा छुटेका थिए नजामुदिन अली
प्रहरीसामू घटनामा आफू संलग्न भएको बताएतापनि अदालतमा इन्कारी बयान दिएका अलीलाई सिरहा जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउने निर्णय गरेको थियो ।
२०७० साल माघ ९ गते जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्नु भन्ने आदेश दिएपछि नजामुदिन अलीका दाजु पुनरावेदन अदालत पुगेका थिए ।
पुनरावेदन अदालत राजविराजले २०७० साल फाल्गुन २९ गते गरेको फैसलामा जिल्ला अदालतको निर्णय उल्टाएर अलीलाई तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
उच्च अदालतको आदेशपछि थुनामा रहेका अलीलाई रिहा गरिएको थियो ।
अनि अदालतले दोषी ठहर गर्यो ...
झण्डै एक वर्षपछि अदालतमा चलेको यस मुद्दामा सिराहा जिल्ला अदालतका तत्कालीन न्यायाधीश विनोद कुमार पोखरेलले २०७१ साल असोज २७ गते घटनामा संलग्न तीनैजनालाई दोषी ठहर गरे ।
न्यायाधीश पोखरेले फैसला गर्दा तीन वटा कुरालाई आधार मानेका छन् । ‘घटना नभईकन कुनै पनि नारीले आफ्नो अस्मितामाथि नै प्रश्न उठ्न गरी मुद्दा दायर गर्नुपर्ने देखिँदैन ।’ भन्ने कुरालाई पहिलो आधार मानिएको छ भने गाउँमै पञ्च बसेर मिलापत्र गरेको हुनाले घटना भएकै हो भन्ने कुरालाई दोस्रो आधार मानिएको छ ।
त्यस्तै पीडित बालिकाको स्वास्थ्य परीक्षणलाई तेस्रो आधार मानिएको छ ।
मुलुकी ऐन जबरजस्ती करणीको महल अनुसार घटनामा दोषी पाइएका नजामुदिन अली, दाउद अली र मनोज ठाकुरलाई छ वर्ष कैद र सामूहिक करणीमा संलग्न भएकोमा थप पाँच वर्ष गरी ११ वर्ष कैद सजाय र प्रतिव्यक्ति रु. पचास हजारको दरले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश न्यायाधीश पोखरेलेले दिएका हुन् ।
अदालतको पूर्ण पाठ
अझै फरार छन् अन्य दुई
उच्च अदालतबाट तारेखमा रिहा भएका नजामुदिन अली र दाउद अलि भने अहिलेसम्म फरार नै छन् ।
इलाका प्रहरी कार्यालय गोलबजार सिराहाका प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीका अनुसार फरार अभियुक्तको खोजतलास जारी नै छ ।
अदालतका आदेशसम्वन्धित अन्य समाचारहरू
- सामूहिक बलात्कारमा संलग्न युवक १० वर्षपछि जेल
- नौ वर्षअघि जङ्गलमा गएर चरेस उत्पादन, बागलुङकी रीता घर्तिमगर पुगिन जेल
- १६ वर्षअघि नाबालिकामाथि सामूहिक बलात्कार, ५८ वर्षका कँडेल पुगे जेल
- ३४ वर्षअघि हत्या गरेर फरार व्यक्ति जेल चलान
- समाजका भद्र भलादमी बसेर सम्वन्धविच्छेद, दोस्रो विवाह गरेका चेतमान पुगे जेल
- विदेशीलाई नेपाली नागरिकता सिफारिस गर्ने पूर्व वडाध्यक्ष जेल चलान
- प्रस्टसँग बोल्न नसक्ने बालिकामाथि यौन दुर्व्यवहार गर्ने महत जेल चलान
- जापान पठाइदिन्छु भन्दै ३५ जनाबाट करोडौँ ठग्ने जेल चलान
- ढुङ्गाले हानेर गोरु मारेर मासु खाने जेल चलान
- एघार वर्षअघि सौता बनेर गएकी महिला जेल चलान
- १० वर्षअघि मान्छे मारेर भागेका व्यक्ति जेल चलान
- कान्छी श्रीमती बनेर गएकी महिलासहित श्रीमान् जेल चलान
- जन्मकैद फैसला भएका व्यक्ति १२ वर्षपछि जेल चलान
- छ वर्षअघि मोटरसाइकल दुर्घटनामा पैदलयात्रुको निधन, चालक अहिले जेल चलान
- साथिको बहिनीमाथि बलात्कार प्रयास गरेर फरार रहेका दुलाल तीनवर्षपछि जेल चलान
- चिठ्ठा परेको भन्दै एक महिलालाई ठगेर फरार चौधरी चार वर्षपछि जेल चलान
- श्रीमती मारेर बोरामा शव फ्याक्ने श्रीमानसहित तीन जना जेल चलान
- फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति तीन वर्षपछि जेल चलान
- मोटरसाइकलमा गोरुको मासु बोकेर हिंड्ने फरार चालक ६ महिनापछि जेल चलान
- ११ वर्षअघि छुरी देखाएर चोरी गर्ने व्यक्ति जेल चलान
- गाडीले मान्छे किचेर फरार चालक २६ वर्षपछि जेल चलान
- पैसा नभएको खाताको चेक दिएर फरार व्यक्ति जेल चलान
- ज्यान मारेर फरार व्यक्ति १३ वर्षपछि जेल चलान
- बहुविवाह मुद्दाका फरार ८ वर्षपछि र कर्तव्य ज्यान मुद्दाका अभियुक्त सात वर्षपछि जेल चलान
- २३ वर्षअघि हत्या गरेर वैदेशिक रोजगार, नेपाल आएपछि लुकेर बसेका व्यक्तिलाई सर्वस्व सहित जन्म कैद