
तानसेन । बाथरुम (नुहाउने कोठा) मा राखिएको बाल्टिनमा डुबेर एक वर्षकी बालिकाको निधन भएको छ ।
घटना बुधबार दिउँसो ४:०० बजेको हो ।
जिल्लाको पूर्वखोला गाउँपालिका-२ घर भई हाल बगनासकाली गाउँपालिका-१ चिलादीमा अनन्त शारू आफ्नो श्रीमान् र छोरीसहित डेरामा बस्दै आएकी थिइन् ।
भर्खरै एक वर्ष पुगेकी छोरी अंशिका शारू बाथरुमा राखिएको बाल्टिनमा रहेको पानीमा डुबेर घाइते भएकी थिइन् ।
घाइते भएकी बालिकालाई उनका बाबुले तत्काल उपचारको लागि मिसन अस्पताल पाल्पा लगेका थिए ।
तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटिएर थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए ।
स-साना बालबालिकाहरू बाल्टिनमा रहेका पानीमा डुबेर निधन हुने घटनाहरू बढ्दै गएपछि प्रहरीले त्यस्ता बाल्टिनहरूको विर्को लगाउन अनुरोध गर्दै आइरहेको छ ।
सकेसम्म बाल्टिनमा पानी नराख्ने, राख्नैपर्ने भएतापनि ढकनी (बीर्को) लगाउने, घरवरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्लाने पनि यस्ता घटनाहरू कम हुँदै जान्छन् ।