
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन संघारमा आइपुगिसकेको छ । सो निर्वाचन विगत भन्दा यस पाली अझै बढी रोचक बन्ने देखिन्छ । किनकि एनआरएनएको चुनावमा यस पटक ४ जना अध्यक्षका प्रत्यासीबीच रोचक भिडन्त हुँदैछ ।
निवर्तमान कार्यकालमा सहमति भन्दै तीन जनासम्म अध्यक्ष बनेपछि चर्को आलोचना भएको एनआरएनएमा यस पटक चुनावले गरमागरम माहौल बनाएको छ ।
तर अध्यक्षका र अन्य पदमा उम्मेदवारी घोषणा गरेका केही पात्रहरू भने अरू कोही नभएर उठाइएको जस्तो पनि देखिन्छ ।
अध्यक्षका प्रत्याशी आरके शर्मालाई केही वर्षअघि कतार प्रहरीले पक्राउ गरेको थियो । श्रम शोषण गर्ने गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि समय समयमा श्रम शोषणको आरोप लाग्दै आएको छ । यसरी हेर्दा उनी स्वच्छ छविका देखिँदैनन् ।
कतारमा रहेर लामो समयदेखि माओवादी केन्द्रसँग नजिक रहेर राजनीतिसमेत गर्दै आएका शर्मालाई त्यहाँको प्रहरीले पक्राउ गरी हप्तौँसम्म परिवारलाई समेत भेट्न नदिई हिरासतमा राखेको थियो ।
कतारमा ठेक्कापट्टाको व्यवसाय गर्दै आएका शर्माको अस्वाभाविक कमाइको विषयलाई समेत कतिपयले प्रश्न उठाउँदै आएका छन् ।
सरकारी जग्गा हडपेको, नेपालमा स्वामित्व हस्तान्तरण नगरी विदेशबाटै किनबेच गरी राजस्व छली गरेको लुम्बिनीको टाइगर प्यालेस रिसोर्टको विवाद त सर्वविदितै छ ।

सोही होटल खरिद गरेका बुद्धिसागर सुवेदी अहिले एनआरएनएको महासचिव पदमा उम्मेदवारी दिएका छन् । सरकारी जग्गा हडपेको विवाद हुँदा हुँदै नेपाल बाहिर बाटै होटलको स्वामित्व लिएका सुबेदीबाट के अपेक्षा गर्ने ?
चितवनको माडी घर भएका सुवेदी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा अमेरिका पुगेका थिए।
उनी मात्र हैनन् ३३ किलो सुन प्रकरणमा गोरेसँग मिलेमतो गर्ने गरेको, हुण्डीको रकम पठाउन सहयोग गरेको लगायतका आरोप लागेका एनआरएनए युएईका नेता ठाकुर ढुंगाना पनि यस पटक संघको नेतृत्वमा पुग्ने दाउमा छन् । उनले संघको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेर अगाडि बढेका छन् ।
एनआरएनएभित्रै यी तीन उम्मेदवारलाई लिएर अनेक चर्चा हुन थालेको छ । तीनै जनाको उम्मेदवारीले संघलाई थप बदनाम बनाउने चिन्ता कतिपय एनआरएनएका सदस्यहरूलाई रहेको चर्चा चल्न थालेको छ ।
नेपालमा आपराधिक पृष्ठभूमिका व्यक्ति राजनीतिमा आउँदा चर्को आलोचना गर्ने गैर आवासीय नेपालीले आफ्नो नेतृत्व कस्तो चुन्लान् ? हेर्ने समय आएको छ ।