पोखरा । पोखराको लेकसाईडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्ने र महिलालाई जिस्काउनेदेखि विभिन्न कसुरमा संलग्न १० जना पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।
लेकसाईडमा विदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागि दवाव दिने, नमानेमा बाटोमा हिड्ने पर्यटक तथा मानिसहरुलाई हैरान गरी आतङ्कित पारेको आरोपमा प्रहरीले पुस २ गते सोमबार राती पौने १२ बजे विजिवि गल्लीबाट पाँचजनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा पोखरा-१६ दीप बस्ने २० वर्षीय डिलन श्रीषमगर, कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ बस्ने २० वर्षीय सन्देश विक, पोखरा-६, ठाडोपसल बस्ने ३० वर्षीय सुरेश थापा, पोखरा-६, जरेवर बस्ने २९ वर्षीय महेन्द्र भण्डारी र गोरखा भीमसेन गाउँपालिका-८ बस्ने ३२ वर्षीय सुरेश थापा रहेका छन् । पक्राउ परेकाहरुले प्रहरीले सम्झाई बुझाई गर्दा उल्टै अपशब्द बोल्दै विवाद गरेका थिए ।
यस्तै, मंगलबार बिहान गल्ली नं. ४ अगाडि सडकमा मादक पदार्थ सेवन गरी मर्निङवाकमा जाने महिलाहरुलाई अपशब्द प्रयोग गर्ने, हातपात गर्ने र सम्झाउन खोज्दा उल्टै घाईते हुने गरी स्थानीयवासीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका-१२ घर भई हाल पोखरा-६ बस्ने २७ वर्षीय डेविड भन्ने डिल्लीप्रसाद पौडेललाई पक्राउ गरेको छ ।
त्यसैगरी, सोमबार राती पौने १२ बजेको समयमा लेकसाईडमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै अशान्ति फैलाएको आरोपमा प्रहरीले बागलुङ, काठेखोला गाउँपालिका-५ घर भई हाल पोखरा-५, मालेपाटन बस्ने २६ वर्षीय विक्रम थापा, स्याङ्जा गल्याङ नगरपालिका- १ घर भई हाल पोखरा-१४ काजिपोखरी बस्ने ३१ वर्षीय आशिष थापालाई प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै, सोही दिन बेलुकी ५ बजे पोखरा-९, चाईनापुलस्थित शंकास्पद ढंगले हिडिरहेको अवस्थामा सोधपुछ गर्दा प्रहरीमाथि नै अपशब्द प्रयोग गरेको आरोपमा पोखरा-१४ बस्ने ३२ वर्षीय शिवबहादुर कार्की र पोखरा-९ बस्ने २७ वर्षीय शंकर भुजेल पक्राउ परेका हुन्।
पक्राउ परेकाहरुलाई छुट्टाछुट्टै अभद्र व्यवहार सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलोपटक ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।