
रसुवा । जिल्लाको गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको सुनसहित तीन जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
१२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तमाङ, सोही गाउँपालिका-५ चिलिमे बस्ने १६ वर्षीया किशोरी र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय लक्ष्मी तामाङ रहेका छन् ।
नेपाल-चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ५ थान बेरूवा औंठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।