
काठमाडौँ । आफूलाई ईसेवाको कर्मचारी बताएर १८ जना सेवाग्राहीसँग १५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरू सबै रौतहट जिल्लाका व्यक्ति हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटका बिभिन्न स्थानबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले बताए ।
पक्राउ पर्नेमा गौर–५ का २६ वर्षीय नवनितकुमार कुशवाहा, २१ वर्षीय कन्हैयाकुमार कुशवाहा, २१ वर्षीय रितेश कुशवाहा र २० वर्षीय अभयकुमार यादव छन् ।
त्यस्तै, रौतहटकै गढिमाई-६ का १९ वर्षीय दीपेन्द्रकुमार यादवलाई पनि पक्राउ गरिएको छ ।
आरोपीले पीडितहरुसँग ईसेवा आईडी बैंक खातासँग लिङ्क अप गर्ने, खाता नवीकरण गर्ने, केवाईसी अपडेट गर्नेजस्ता बहाना बनाएर खातासम्म पहुँच राख्ने गरेको प्रहरीले जनाएको छ ।