
महोत्तरी । जिल्लाको सम्सी बजारमा रहेको एक होटलमा प्रहरीले छापा मारेको छ ।
होटेलमा यौनधन्दा संचालन गरेको आरोपमा सम्सी बजारमा रहेको होटल संगम एण्ड गेस्ट हाउसका सञ्चालकसहित छ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
होटलमा महिलाहरू राखेर यौन धन्दामा संलग्न गराएर सो बापत पैसा लिने दिने गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहत प्रहरी चौकी सम्सी बाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।
पक्राउ पर्नेमा महोत्तरी औरही नगरपालिका-६ भोल्ही घर भई सम्सी गाउँपालिका-६ सम्सी बजारमा संगम होटल एण्ड गेष्ट हाउसको संचालक अन्दाजी वर्ष ४२ को संजिव कुमार झा रहेका छन् ।
उनी स्थानीय सामुदायिक विद्यालयमा अस्थाई शिक्षकको रुपमा कार्यरत रहेको वडाध्यक्ष शेष उमैदले केटिएम दैनिकलाई बताए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीका अनुसार यौनधन्दामा संलग्न तीन महिला र दुई पुरुष पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये एक महिला नेपाली नागरिक रहेको बताइएको छ । गोपनियताको लागि उनीहरूको विवरण सार्वजनिक गरिएको छैन ।
प्रहरी प्रवक्ता गिरीका अनुसार यौनधन्दामा संलग्न महिलाहरूलाई सम्झाई बुझाई अभिभावकको जिम्मामा छाडिएको छ ।
पक्राउ परेका भारतीय नागरिकद्वय हरिद्वार यादव, गुलाब धुनिया र होटल सञ्चालकलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
दुवै भारतीय नागरिकको उमेर २२ वर्ष रहेको बताइएको छ ।
कस्तो कारबाही हुन्छ ?
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ (पाँचौ संशोधन) ले कुनै प्रकारको फाइदा लिई वा नलाई वेश्यावृत्तिमा लगाउने र वेश्यागमन (वेश्यासँग यौनसम्बन्ध राख्ने) लाई मावन बेचबिखन तथा ओसारपसार कसुर गरेको मान्दछ ।

उक्त ऐनको दफा १५ का अनुसार वेश्यावृत्तिमा लगाउनेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुन्छ भने वेश्यागम गर्नेको हकमा एक महिनादेखि तीन महिनासम्म कैद र दुई हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिबाना हुन्छ ।
