
काठमाडौं । सरकार निर्माणमा अन्तिम संवैधानिक प्रावधान प्रयोग गर्दै कोशी प्रदेशको छैटौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस शेखर कोइराला निकट केदार कार्की नियुक्त भएका छन् ।
दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका कार्की अघिल्लो कार्यकालमा प्रदेश १ को आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए ।
कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेकपा एमालेका ३९ र नेपाली कांग्रेस शेखर कोइराला निकट आठ प्रदेशसासंदको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । कार्कीले विश्वासको मत लिन नसकेको खण्डमा कोशी प्रदेशमा मध्यावधि चुनाव हुनेछ ।
मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको बताएका छन् ।

सत्ता गठबन्धनबाट विदोह्र गरेर कार्की मुख्यमन्त्री भइरहँदा बालुवाटारमा भने प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच एक बुँदै सहमित भएको पत्र सार्वजनिक भएको छ ।
उक्त पत्रमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र प्रष्ट छौं र, यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुने दिने छैनौं ।’
