
काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका-५ ग्वालेमा आज दिउँसो जीप दुर्घटनामा घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।
सिमकोटको मानसरोवर नमुना माध्यमिक विद्यालय नजिकै बा२१च ७३५३ नम्बरको बोलेरो जिप सडकबाट करिब ६० मिटर तल खस्दा सिमकोट वडा नम्बर २ र ३ का वडा अध्यक्षसहित जीपमा सवार ९ जना स्थानीय घाइते भएका थिए ।
दुर्घटनामा गम्भिर घाइते भएका सिमकोटका सुस्वा संयोजक ध्रुव शाही, वडा नम्बर २ का अध्यक्ष देवजंग बोहोरा र ३ का वडाध्यक्ष पामा लामा लाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार लगेर नेपालगञ्ज ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जिपमा ड्राभइभरसहित १० जना सवार थिए ।
बडगाउँमा हुने ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता’ (सुस्वा)कार्यक्रममा सहभागी हुन वडा अध्यक्षसहितका प्रतिनिधिहरू जीपमा सवार रहेको बताइएको छ ।