
काठमाडौं । यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंज, नेपाली सेना र प्रदेशमा रहेका केनाईन कार्यालयहरूमा आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।
कुकुर तिहारका दिन कुकुरलाई मनपर्ने खाना खान दिएर फूलमाला लगाइ पूजा गरिएको हो ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ ।

नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।

कुकुर आज्ञापालक जनावर हो । घरको रेखदेखदेखि भेडाबाख्रा र घरपालुवा जनवारको सुरक्षामा समेत कुकुरलाई प्रयोग गरिँदै आइएको छ । संसारमा सबैभन्दा बढी घरपालुवाको रुपमा समेत कुकुर रहेको छ ।
प्राकृतिक प्रकोप जस्तै भूकम्प, पहिरो आउनुपूर्व कुकुरलाई सूचना हुने विश्वास छ । यो विश्वासलाई वैज्ञानिकहरूले समेत पुष्टि गरिसकेका छन् ।

कुकुरको महत्वलाई धार्मिकशास्त्रसँग जोडेर हेर्दा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले कुकुरलाई पनि सँगै लिएर गएको कथा महाभारतमा उल्लेख छ ।
नेपाली सेना र नेपाल प्रहरीले तालिम प्राप्त कुकुरको पुजा गर्दै कला कौशल प्रदर्शन गरेका छन् ।
हेरौं तस्बिरहरू








