
दाङ । दाङमा आज दिउँसो खुकुरी प्रहारबाट एक महिलाको घटनास्थलमै निधन भएको छ ।
जिल्लाको तुलसीपुर उपमहानगर-११ बेलटाकुरा भगवती टोल बस्ने अन्दाजी वर्ष ४२ की रिता लामिछानेको घटनास्थलमै निधन भएको हो ।
लामिछानेमाथि स्थानीय ३८ वर्षीय टेक बहादुर हमालले खुकुरी प्रहार गरेका हुन् ।
घाँटीमा तीन पटक प्रहार गर्दा उनको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लले केटिएम दैनिकलाई बताए ।
मल्लका अनुसार यस घटनामा थप दुई जना घाइते भएका छन् ।
स्थानीय ४५ वर्षीय बिर बहादुर हमाल र ६५ बर्सिया कमला कुमारी हमालमाथि पनि टेक बहादुर हमालले खुकुरी प्रहार गरेका हुन् । बिर बहादुरको दायाँ हातमा र वृद्धाको टाउकोमा खुकुरी प्रहार भएको दाङ प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
तुलसीपुर उपमहानगर-११ का वडाध्यक्ष मान बहादुर रावतका अनुसार टेक बहादुरले पहिला वृद्धामाथि खुकुरी प्रहार गरेका थिए । त्यसपछि उनले बिर बहादुर हमाललाई खुकुरी प्रहार गरेका हुन् ।
घरको बरन्डामा बात्ती काटेर बसिरहेकी मृतक लामिछाने के हल्ला भएछ भन्दै बाहिर निस्कँदा हातमा खुकुरी बोकेर आइरहेका टेक बहादुरलाई देखेर आत्तिएर भागेकी थिइन् ।
टेक बहादुरले लामिछानेको पिछा गर्दै घाँटीमा तीन पटक खुकुरी प्रहार गरेपछि उनको घटनास्थलमै निधन भएको हो ।
अन्य घाइते दुवैलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा पठाइएकोमा कमला कुमारी हमाललाई थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पठाइएको डिएसपी मल्लले बताए ।
प्रहरीका अनुसार वृद्धाको स्वास्थ्य अवस्था खतरामुक्त छ ।
मृतक लामिछानेको शवलाई पोस्टमार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । वडाध्यक्ष रावतका अनुसार भोली मृतकको पोस्टमार्टम गरिने भएको छ ।
खुकुरी प्रहारपछि आफ्नै घरमा लुकेर बसेका टेक बहादुर हमाललाई प्रहरी चौकी जसपुर र इलाका प्रहरी कार्यालय, तुलसीपुरबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
खुकुरी प्रहार गर्ने, मृतक र घाइतेहरू एकै टोलका बासिन्दा हुन् ।
स्थानीयले खुकुरी प्रहार गर्ने व्यक्तिमा मानसिक समस्या रहेको बताए पनि यसको पुष्टि हुन बाँकी नै छ ।