
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका केदार कार्कीले विश्वासको मत पाएका छन् ।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त भएका मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो ।
९३ सदस्यीय कोशी प्रदेशसभामा मतदानमा ९१ सदस्य उपस्थित भएका थिए । राप्रपाका सांसद प्रेमराज थाङ्सुहाङ र उपसभामुख समेत रहेकी एमालेकी सासंद सिर्जना दनुवार मत विभाजनमा सहभागी भएनन् । राप्रपा सासंद थाङ्सुहाङ अनुपस्थित भएका थिए ।
मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, काँग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री कार्कीलाई बहुमत सांसदले विश्वासको मत दिएको बैठकको सभाध्यक्षता गरेकी उपसभामुख सृजना दनुवारले घोषणा गरेकी थिइन । ‘माननीय केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु’ दनुवारले भनिन् ।
कार्की कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो (पाँचौं पटकको मुख्यमन्त्री) मुख्यमन्त्री हुन् । एमालेका ३९ र काँग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।