
काठमाडौं । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका-२ श्रीपुरमा ४४५ जनाको आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।
नेपाल नेत्रज्योति सङ्घ, आर.एम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघुवित्त वित्तीय संस्थाको आर्थिक सहयोगमा श्रीपुरमा शनिवार एक दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर आयोजना गरिएको थियो ।
मोतियाबिन्दु देखिएको सबै बिरामीहरूको नेपाल नेत्रज्योति सङ्घ आर.एम केडिया आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको छ ।

आर्थिक अभावमा र पहुँचको अभावमा कोही पनि नागरिक आँखा उपचार सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले नेत्रज्योति सङ्घले विभिन्न स्वदेशी तथा दातृ निकायहरूसँगको सहकार्यमा देशैभरि विभिन्न समयमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।
छिमेक लघुवित्तले सामाजिक उत्तरदायित्व अन्तरगत नेत्रज्योतीलाई शिविर सञ्चालनका लागी आर्थिक सहयोग प्रदान गरेको हो ।
सङ्घले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरू मार्फत नेपाली नागरिकहरूलाई सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।
स्थापना देखि हालसम्म सङ्घले आफ्ना अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरू मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरूलाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया सेवा प्रदान गरिसकेको जनाएको छ ।