
काठमाडौँ । नेपाल कला परिषद्, बबरमहल, काठमाडौँमा सम्भोता/भोटी लिपि सम्बन्धी दुई दिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आजदेखि सुरु भएको छ ।
भारतीय राजदूतावास काठमाडौँ, बीपी कोइराला भारत–नेपाल फाउन्डेसन र नेपाल बौद्ध महासंघले संयुक्त रूपमा उक्त प्रदर्शनको आयोजना गरेका हुन् ।
कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय प्रमिला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्द्धनका अध्यक्ष खेनपो गेशे थुप्तेन जिक्डोलले संयुक्त रूपमा गरेका हुन्।
भारतको सिक्किमबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन्।
राज्यमन्त्री कुमारीले कुनै पनि राष्ट्रको संस्कृति र परम्परा सो राष्ट्रको मुटु र आत्मा भएको उल्लेख गरिन्। उनले नेपाल र भारतको लागी बौद्ध धर्म एक साझा धागो भएको बताइन्।
क्यालिग्राफर दोर्जीले भारत र नेपालको हिमाली क्षेत्रमा भोटी लिपिको अझै पनि प्रयोग भइरहेको उल्लेख गरे ।
कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध संघसंस्था तथा भोट तथा बौद्ध धर्म अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो। इच्छुक सबैका लागि यो प्रदर्शनी नेपाल कला परिषद्मा आज र भोली खुला रहनेछ।