
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्न विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाले बुधवार आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर डाक्टर, नर्स सहित स्वास्थ्य सम्बन्धी विषय पढ्नका लागि विदेश जानु पर्ने अहिलेको बाध्यता हटाउने दाबी गरे ।
मन्त्री बस्नेतले भने, ‘ वर्तमान चिकित्सा शिक्षा ऐनका केही प्रावधानले मेडिकल कलेज र नर्सिङ कलेजका कोटा घटाइयो । जसका कारण स्वदेशमै पढ्न चाहने विद्यार्थीहरूले पनि बाध्य भएर पढ्नका लागि विदेश जानु परेको छ । अब ऐन चाडै परिमार्जन गरेर स्वदेशमै पर्याप्त कोटा निर्धारण गरिने छ र नेपालमै पढ्न पाइने सुनिश्चित हुनेछ ।’
चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्रीदेखि मन्त्रीपरिषद् र राजनीतिक दलहरूका नेता समेत सहमत रहेको बताउँदै मन्त्री बस्नेतले एक जनाले अनसन बस्छु भनेर धम्की दिएकै भरमा लाखौँ विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्न नसकिने जिकिर गरे ।
विदेशीले समेत चिकित्सा शिक्षा पढ्न नेपाल आउन चाहिरहेको अवस्थामा चिकित्सा शिक्षा ऐनका कारण अवरोध भइरहेको उनले बताए ।
अवरोध हटाएर नेपाललाई मेडिकल शिक्षाको हवको रूपमा विकास गर्न सकिने गरी काम भइरहेको मन्त्री बस्नेतले दाबी गरे ।
चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर मेडिकल कलेज र नर्सिङ कलेजका सिट नबढाउने हो भने अबको ५ वर्ष भित्रै चिकित्सक र नर्स विदेशबाट आयात गर्नु पर्ने अवस्था आउन सक्ने उनको भनाई छ ।
उनले भने, ‘अहिले नै देशलाई २९ हजार नर्सको आवश्यकता छ । पढ्नका लागि विदेश जाने र काम पनि उतै गर्न थाले पछि हामीले विदेशबाट आयात गर्नु पर्ने दिन नआउलान् भन्न सकिन्छ ।’
मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि विपन्नका लागि हरेक अस्पतालमा १० प्रतिशत शय्या नि:शुल्क गराएको केन्द्रीय अस्पतालहरूका साढे ३ हजार जनरल शय्या विपन्नका लागि नि:शुल्क गराएको र अव सात वटै प्रदेश अस्पतालका शय्या पनि नि:शुल्क गराउन लागेको दाबी गर्दे ४ वटा प्रदेशले नि:शुल्क गरिसकेको र वाकी ३ मा पनि छिट्टै हुने जानकारी दिए ।
कार्यक्रममा मन्त्री बस्नेतले कागेश्वरी महोहरा नगरपालिकाका विभिन्न विद्यालयका उत्कृष्ट शिक्षक र विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रम कागेश्वरी महोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको अध्यक्षतामा भएको थियो