
काठमाडौँ । हास्यव्यङ्ग्य कलाकार पल्पसा डँगोल (चम्सुरी)ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ को भिडियो बजारमा ल्याएकी छिन् । मिर्गौला फेरेर नयाँ जीवन पाएकी यी कलाकारले त्यसपछि यो नयाँ गीत ल्याएकी हुन् ।
आफ्नो जन्म दिनको अवसर पारेर बुद्ध पूर्णिमाको अवसरमा पल्पसाले यो गीतको भिडियो दर्शकमाझ ल्याएकी हुन् । उनको जन्म दिनको केक काट्दै काठमाडौँमा एक समारोहबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मुलरीधर, किरण केसीसहित दीपाश्री निरौला, आनन्द कार्की, केदार घिमिरे (माग्ने बुढा)लगायतले उनको यो गीतको विमोचन गरेका छन् ।
विमोचन पछि कलाकार मदनकृष्ण श्रेष्ठले त पल्पसालाई अहिलेको अवस्थामा देख्दा नयाँ काम गर्न आफूलाई अझ धेरै प्रेरणा मिल्ने गरेको बताए ।
रक्सीको लतमा लागेका श्रीमानलाई सुधार्ने यो सन्देशमूलक गीत ल्याएको उनले बताएकी छन् । आफ्नो स्वर ठिकै भएपनि गीतबाट केही दिन सकिन्छ कि भन्ने चाहनाले यो गीत जन्मेको पल्साले बताइन्, ‘भाइले मिर्गौला दान गरेपछि बोनसमा पाएको यो जीवनमा धेरै भन्दा धेरै काम गर्नु छ । त्यसैले जन्मदिनको अवसर पारेर यो नयाँ गीतबाट नयाँ कामको थालनी गरेकी हुँ ।’ कलाकार पल्पसाले विमोचन समारोहमा भनिन् ।
उनले यो आफ्नै अफिसियल युट्युब च्यानलबाट रिलिज गरेकी छिन् । जसमा पल्पसासँगै राजु भुजु, मञ्जु श्रेष्ठ, आरके मानन्धर, सुनिता श्रेष्ठ ठाकुरको अभिनय छ । दुर्गा पौडेलले खिचेको यो भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका हुन् । रमेशराज भट्टराईको शब्द सङ्गीत रहेको यो गीतको भिडियो पल्पसा आफैँले निर्देशन गरेकी हुन् ।
भिडियो