
काठमाडौं । एसिया कपमा नेपाल भारतसँग पराजित भएको छ।
श्रीलंकाको पालेकेले रंगशालामा सोमबार भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो।
कप्तान रोहित शर्मा र शुबमन गिलले ब्याटिङबाट भारतलाई सजिलो विजय दिलाए । वर्षाका कारण २३ ओभरमा घटाइएको खेलमा भारतलाई १४५ रनको लक्ष्य निर्धारण गरिएको थियो।
भारतले २०.१ ओभरमै लक्ष्य पूरा गरेको हो। यो जितसँगै भारत अर्को चरणमा पुगेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपालका लागि कुनै पनि बलरले विकेट लिन सकेनन्।
यसअघि ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो ।
नेपालका लागि प्रारम्भिक ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ९७ बलमा आठ चौकाको मद्दतले ५८ रन प्रहार गरे।
त्यस्तै, नेपालका लागि सोमपाल कामीले ४८ रन बनाए। उनले ५६ बलमा एक चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, कुशल भुर्तेलले ३८, गुल्सन झाले २३, सन्दीप लामिछानेले नौ, भीम सार्कीले सात, रोहित पौडेलले पाँच, कुशल मल्ल र करण केसीले दुई–दुई रन बनाए।
भारतका लागि मोहम्मद सिरज र रवीन्द्र जडेजाले तीन–तीन, मोहम्मद शमी, हार्दिक पाण्ड्या र शार्दूल ठाकुरले एक–एक विकेट लिए।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। नेपाल रहेको समूह ए बाट पाकिस्तान र भारत अर्को चरणमा पुगेका हुन्।