
दिल्ली । भारतले अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने घोषणा गरेको छ ।
मंगलबार बसेको भारतको केन्द्रीय मन्त्रिपरिषद्ले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान ३ सफलतापूर्वक अवतरण गरेको खुशीयालीमा प्रत्येक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) लाई यसको प्रयासको लागि बधाई दिएको छ।
योसँगै चन्द्रमाको अनजान दक्षिण ध्रुवमा पुग्ने भारत विश्वको पहिलो राष्ट्र हुन पुगेको छ।
चन्द्रयान-३ र भारतको अन्तरिक्ष कार्यक्रमको सफलतामा ठूलो संख्यामा महिला वैज्ञानिकको योगदान रहेको छ ।
चार वर्षअघि चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान-३ बनाएको हो । सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र ‘मिसन’ चन्द्रयान-१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो ।